हाम्रो देश
८ माघ २०७८, शनिवार

मान्छे खाने बाघ नियन्त्रणको लागि मन्दिरमा विशेष पूजा पाठ

कोहलपुर । पछिल्ला दिनहरुमा दैनिकजसो पाटेबाघले आक्रमण गरेर मान्छे ज्यान लिन थालेपछि भुवर भवानी मन्दिरमा विशेष खालको पुजा पाठ गरिएको छ । राप्ती सोनारी– ३ बनघुसरीमा रहेको यस क्षेत्रको सबैभन्दा ठूलो शक्ति पिठ भुवर भवानी मन्दिरमा सोमबार विशेष पुजापाठ गरिएको हो । सदियौंदेखि मन्दिरमा पुजापाठ गर्दै आएका थारु गुरुवाहरुले बाघ नियन्त्रणका लागि विशेष खालको पुजा गरेको अगुवा चौधरीया बिष्णुप्रसाद थारुले बताए ।

सोमबार मात्रै विशेष खालको पुजापाठ २ पटक गरिएको जानकारी दिँदै चौधरीया थारुले अब बाघ नियन्त्रण हुने आश्वासनसमेत दिएका छन् । पुर्खाहरुको भनाईअनुसार आज भन्दा १ सय वर्ष अगाडी मान्छेलाई बाघले खाने गरेको र भुवर भवानी मन्दिर स्थापना गरि पुजापाठ गर्न थालेपछि रोेकिएको थियो । विशेष खालको पुजा पाठ गर्ने क्रममा भुलचुक भएको निश्कर्ष निकालिएको छ ।

अगुवा चौधरीया थारुले १०–१० वर्षमा गरिने ठुलो पुजामा भुलचुक भएको र त्रिसुलमा समस्या देखिएको निश्कर्ष गुरुवाहरुले निकालेको उल्लेख गरे । राप्ती सोनारीका करिव २० भन्दा बढी गाउँका अगुवाहरुको उपस्थितिमा विशेष खालको पुजा गरिएको हो ।

२०१४ सालमा पक्की मन्दिर बनि ठुलो शक्ति पिठको रुपमा मानिएको भुवर भवानी मन्दिरमा हरेक वर्ष ३ पटक पुजा पाठ गर्ने गरिएको छ । हरेक वर्ष माघे संक्रान्तिका अवसरमा ठूलो मेलासमेत लाग्ने गरेको छ ।

-मिसनटुडे बाट