हाम्रो देश
८ माघ २०७८, शनिवार

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमवार तथा मंगलवार परेको असिनाले यहाँका कृषकले लगायका काउली, टमाटर, मुला, प्याज लगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्‍याएपछि किसानहरु चिन्तित बनेका छन् ।

बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार गाउँपालिका–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘असिनाले फुलेर कोसा लागेको तोरीबाली र तरकारीमा निकै क्षति पुर्यायाएको छ, किसानलाई ठूलो नोक्सान गरायो ।’

उहाँका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौका बोट ढलाएर पात चुटेर छियाछिया बनाएको छ । यसैगरी भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासीहरु बताउँछन् । यसैगरी सुन्तला तथा कागतीका दाना समेत असिनाले झारेकाे छ ।