हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

प्लाष्टिकका भाँडामा दूध बोक्न नपाइने

काठमाडौं । नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको अनुगमन थालेको छ । कार्यालयले पनौती नगरपालिका कुशादेवी, पाँचखाल तथा मण्डन देउपुरमा रहेका दुग्ध चिस्यान केन्द्र तथा सङ्कलन केन्द्रको अनुगमनपछि दूधको नमूना सङ्कलन गरी बबरमहलस्थित नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण केन्द्रीय कार्यालयको प्रयोगशालामा पठाएको छ ।

कुशादेवीका आठ, पाँचखालका तीन, मण्डन देउपुरका सात चिलिङ सेन्टर र पाँचखालस्थित खावा तथा केराघारीका ११ दूध सङ्कलन केन्द्रको अनुगमन गरी दूध परीक्षण गर्न केन्द्रीय प्रयोगशाला पठाइएको डिभिजन कार्यालय धुलिखेलका खाद्य अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारीले जानकारी दिए । उनले भने, ‘दूधमा स्वच्छता कायम गर्न अनुगमन थालेका छौँ, अनुगमनका क्रममा दूधको नमूना सङ्कलन गरी परीक्षण गर्न प्रयोगशाला पठाइएको छ ।’

दूधमा मानिसले खाने सोडा तथा साबुन बनाउन प्रयोग हुने काष्टिङ सोडा (जसले दूध जम्न र फाट्न दिँदैन), चिनी र पीठोलगायतका वस्तु मिसाउने गरेको जनगुनासो आएपछि चिस्यान केन्द्र तथा सङ्कलन केन्द्रमा अनुगमन गरिएको भण्डारीले बताए । ‘जन गुनासो र यो महिना खाद्य स्वच्छता दिवस मनाइरँदा अनुगमन गरेका हौँ, दूधमा केमिकल मिसाइएको पाइएमा कारवाहीका लागि सिफारिस गर्नैछौं’, उनले भने ।

अनुगमनका क्रममा दूधमा केमिकल नमिसाउन तथा प्लाष्टिकका भाँडामा दूध बोक्न तथा भण्डारण नगर्न सचेत गराइएको छ । दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ अनुसार प्लाष्टिकका भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । उनले भने, ‘अब कृषकले विहानको बिहानै र साँझको दूध साँझै बिक्री गर्नुपर्नेछ ।’

निर्देशिका अनुसार दूधमा स्वच्छता कायम गर्न धुलिखेलस्थित कार्यालयले पनौती नपा, नमोबुद्ध नपास्थित भकुण्डे र पाँचखाल नपाका दूध व्यवसायी एवं अगुवा कृषकलाई अभिमुखीकरण गराएको छ । क्रमैसँग जिल्लामा रहेका चिलिङ सेन्टर तथा दूध सङ्कलन केन्द्र अनुगमन गर्दै जाने खाद्य अनुसन्धान अधिकृत भण्डारीले बताए ।

केही व्यवसायीले दूध बोक्न तथा भण्डारण गर्न निर्देशिका अनुसारको स्टिल तथा आल्मुनियमका भाँडा प्रयोग गरिसकेका र केहीले भाँडा बनाउन दिएको बताएका छन् । निर्देशिका अनुसार अब कृषकले समेत प्लाष्टिकको भाँडोमा दूध बोक्न पाउने छैनन् । उनका अनुसार केही व्यवसायीले स्टिल तथा आल्मुनियमका भाँडा बनाउन अनुदान मागेकाले सोसम्बन्धी केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ ।

वासी दूध तताउँदा दूधको एसिडिटी बढ्ने र उक्त दूध सेवन गर्दा मानव स्वास्थ्यमा असर पर्ने बताइएको छ । उहाँका अनुसार बासी दूध नजमोस् र नफाटोस् भन्नका लागि दूधमा काष्टिङ सोडा, चिनी र पीठो प्रयोग गरिएको हुन्छ । काभ्रेका केही व्यवसायीले दूध बोक्न तथा भण्डारण गर्न पुरानै विधि अपनाउने भन्दै अटेर गरेको भण्डारीले जानकारी दिए ।

जिल्लामा करीब ५० वटा चिलिङ सेन्टर रहेका छन् भने ३०० भन्दा बढी दूध सङ्कलन केन्द्र छन् । खाद्य पदार्थमा समस्या थपिँदै गएपछि प्रभावकारी अनुगमन गरी नियमन गर्न मुलुकको नयाँ संरचनाअनुसार २४ स्थानमा डिभिजन कार्यालय स्थापना गरिएको बताइएको छ । विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगञ्ज र धनगढीमा क्षेत्रीयस्तरका खाद्य प्रयोगशाला तथा काठमाडौँमा केन्द्रीय खाद्य प्रयोगशाला स्थापना गरिएको छ । खाद्य ऐन २०२३ अनुसार खाद्यवस्तु गुणस्तरहीन देखिएमा रु ५० हजार जरिवाना वा पाँच वर्ष कैद तथा दुवै जरिवाना गर्नेसक्ने व्यवस्था छ ।प्रतिक्रिया