हाम्रो देश
१० कार्तिक २०७७, सोमवार

सम्पति नभएर गरिब भइदैन, भएको सम्पति नचिनेर गरिब भइन्छ

एजेन्सी , ढोँगी मान्छेले असल मान्छेको फेला पर्यो भने कसरी दुख पाउँछ भन्ने कुरा यो कथामा पाइन्छ ।एउटा गाँउमा लोकरञ्जुन नाम गरेका एक अपढ तर चलाक ब्राम्हण थिए ।

उसको चलाकीबाट सबै गाउँलेका मनमा यी ब्राम्हण बहुतै विद्वान हुन भन्ने विश्वास परेको थियो । गाउँलेहरू कथा पुराण तिनै ब्राम्हणबाट सुन्थे ।चतुर्मासका दिन गाउँमा देवीभागवतपुराण लागेको थियो ।

व्यासासनमा बसी ती ब्राम्हण जुँगा मुसारी मुसारीकन जे पनि हो भन्दै पत्याई सुन्ने गाउँलेहरूलाई हँसाई हँसाईकन “लाटाका देशमा गाँडा तन्नेरी” बनी जे मन लाग्यो त्यही सुनाई रहेका थिए ।

त्यसैबेलामा आचार्य पास गरी घर फर्कंदै गरेका एक जना विद्वान पण्डित त्यहाँ आइपुगे ।पुराण लागेको देखी एकछिन म पनि सुनेर जान्छु भन्ने विचार गरेर उनी त्यहीं विश्राम गरी पुराण सुन्न थाले । लोकरञ्जन ब्राम्हणले सार्है अशुद्धसँग पुराण बाचेको सुनी ती पण्डितका मनमा यस्ता ढोंगी मूर्खलाई सजायँ दिनु पर्यो भन्ने लाग्यो ।जब पुराण सकियो सबैले फूलप्रसाद लिए ।

ती विद्वान पण्डितले पनि फूलप्रसाद लिए ।त्यही बेलामा लोकरञ्जन ब्राम्हणले जुँगा मुसार्दा जुँगाको एउटा रौं खस्यो । विद्वान पण्डितले झटपट त्यस रौंलाई टिपेर आफ्नो धोतीको टुप्पामा पोको पारी बाँधे ।

त्यो देखेर कथा सुन्ने गाउँलेहरूले किन रौं पोको पारी बाँधेको भनी सोधे । त्यसपछि ती विद्वान पण्डितले भन्न थाले- “पुराणको अन्त्यमा कथा भन्ने पण्डितको जुँगा लिन सके भूत-प्रेत, वीर, गानो केही कुराले पनि सताउन सक्दैन ।

त्यसैले यो रौं लिएको हो ।”यति के सुन्नु थियो, पुराण सुन्ने हरूले धुइरेर लोकरञ्जन ब्राम्हणको जुँगा एक-एक गरेर उखालेर लगे । लोकरञ्जन ब्राम्हणको जुँगाको एउटा रौं पनि बाँकी रहेन । त्यसपछि ती विद्वान पण्डित ढोंगी मूर्खले सजायँ पायो भनी आफ्नो बाटो लागे ।

प्रतिकृया दिनुहोस्