हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

तालिमको नाममा पैसा असुलेर फरार

स्याङजा । तपाईंको घरमा कोही बेरोजगार छ ? भन्दै बेरोजगार फर्म भर्न कोही आयो भने तपार्इंलाई कस्तो लाग्छ ? हाम्रो समस्या समाधान गर्न भगवान नै आउनुभयो भन्ने पक्का लाग्छ होला ! त्यस्तै बेरोजगारी फर्म भर्र्दै रोजगारी दिलाउने नाममा एक संस्थाले निशुल्क तालिम प्रदान गर्ने गरी गाउँ गाउँमा फर्म भर्ने कर्मचारी पठायो । गाउँलेले ठाने ‘यो कार्यक्रम सरकार को हो । सरकारले नौलो कार्यक्रम ल्याएछ ।’ तर त्यो कार्यक्रम कुनै गैरसरकारी संस्थाको थियोे ।

व्यानरमा निःशुल्क तालिम लेखेपछि गाउँका सर्वसाधारण हानथाप नै गरेर तालिमको फर्म भरे । ‘नेशनल इम्प्लोइमेन्ट सर्भिसेज एन्ड कन्सल्टेन्सी सेन्टर’ नामक संस्थाले आयोजना गरेको निशुल्क सिपमूलक तालिम त्यो पनि रोजगार प्रदान गर्ने उदेश्यसहित । जनताको मुहारमा खुसी थियो । तर, तालिम लिएको एक महिना नबित्दै प्रति व्यक्ति ५ सयदेखि १२ सयसम्म उठाएर संस्थाका सञ्चालक फरार भएपछि २ सयभन्दा बढी सहभागीको मुहारमा निराशा पलायो । वालिङ नगरपालिका—३ , खाल्टेका शेरबहादुर गुरुङ दुबै मृगौलाका पीडित हुन् ।

उनले आफ्नै गाउँमा सुन्तलाबारी अर्गानिक जुस तथा सस उद्योग सञ्चालन गरेका थिए । बजारको खोजी गरिरहेका गुरुङलाई नेशनल इम्प्लोईमेन्ट सर्भिसेज एन्ड कन्सल्टेन्सी सेन्टर नामक संस्थाका सञ्चालक भोजप्रसाद ढुंगानाले जुसको बजार आफूँले खोजीदिने बताउँदै संस्थामा जुस बनाउन सिकाउने प्रशिक्षकको रूपमा नियुत्त गरे । गुरुङले नेननल इम्प्लोईमेन्ट सर्भिसेजको प्रशिक्षकको रूपमा विभिन्न ३ स्थानमा तालिम पनि दिए तर तलब पाएनन् । । वडा प्रहरी कार्यालय वालिङमा उजुरी दर्ता गर्दे गुरुङले भने , ‘मैले ३ ठाउँमा प्रशिक्षण दिएँ सबै पैसा उठाएर संस्थाका संञ्चालक फरार भए । अफिसको भाडा , रासन खाएको पैसाको फोन मलाई आउन थालेको छ ।’

वालिङ–१० की माया अर्याल क्षेत्रीले निशुल्क ३ महिने सिलाइ कटाइ तालिम लिएको एक महिना पूरा भएको थिएन । सर्टिफिकेट र आबेदन फर्मको दस्तुर बापत ९ सय संस्थाले माग्यो । पछि प्रति व्यक्ति ६ सय फिर्ता हुने गरी २५ जना भन्दा सहभागीले पैसा बुझाए । न पैसा आयो न त तालिम नै सबै निराश बने ।

व्यानरमा निशुल्क तालिम लेख्ने र तालिममा सहभागीसँग प्रमाण पत्रको नाममा प्रति व्यक्ती ५ सयदेखि १२ सयसम्म पुन असुल्दै रकम उठाएपछि सञ्चालक नै फरार रहेको वालिङ १४ की जेनीशा गुरुङले बताइन् । गुरुङलाई यस संस्थाले गाउँ गाउँमा गएर बेरोजगारी फर्म भराउने र प्रति व्यक्ति एक सय फर्म दस्तुर उठाउने गरी कर्मचारी भर्ना गरेको थियो । उनले गाउँ गाउँमा जाने आबेदन फर्म भर्ने गर्दै आएकी थिईन् ।

प्रति व्यक्ती आबेदन दस्तुर एक सय र तालिममा सहभागी भएपश्चात ५ सयका दरले उठाउने गरेको उनले बताइन् । ‘हामीलाई प्रयोग गर्दै रकम उठाएर सर फरार हुनुभयो गाउँका मान्छेहरू तालिम खै ? की तालिम ले कि पैसा फिर्ता ले, भन्छन् अब कसरी दिने ? ’ , गुरुङले भनिन् , ‘सरलाई प्रति व्यक्ति आबेदन दस्तुर बराबर १२ नं वडाबाट मात्र ९ हजार ल्याएर दिएँ । अहिले टाउको दुखाइ भएको छ ।’

वालिङ –९ मा कार्यालय राखिएको थियो । चार महिनासम्म भाडा नपाएपछि घर धनीले वडा कार्यालय , प्रहरी र स्थानीयको रोहोबरमा कार्यालयको ताला तोड्डा कार्यालय भित्रका प्रशासनिक सामान पहिले नै लगिएको वडा अध्यक्ष वसन्त श्रेष्ठले बताए । न कार्यालय छ न संस्थाका संञ्चालक नै । जनता अब सुसूचित हुन आवश्यक रहेको बताउँदै श्रेष्ठले भने ,‘ के तालिम चाहिएको हो आउनुहोस हामी प्रदान गर्छाैं ठगी गर्ने संघ संस्थाको पछि लाग्न आबाश्यक छैन । ’

राज्य संघीय संरचनामा गएसँगै देशभरका स्थानीय तहमा निशुल्क सिपमूलक तालिम प्रदान गर्ने प्रबृती बढेको छ । सिपमूलक तालिम सर्वसाधारणलाई प्रदान गर्ने र आत्मनिर्भर बनाउने अभियानले जनस्तरमा उल्लेखनीय प्रभाव पारेको देखिँदैन । पछिल्लो समय विभिन्न गैरसरकारी संस्थाले सिपमूलक तालिमलाई मागी खाने भाँडो बनाउन थालेका छन् । यस्ता संघ संस्थालाई अनुगमन गर्ने निकाय को हो भन्ने अन्यौल हुँदा तालिम मात्र होइन विभिन्न कार्यक्रमको नाममा देशको ठूलो रकम हिनामिना भएको छ ।