हाम्रो देश
१० माघ २०७७, शनिवार

बंगलादेशले ६२ रनले हरायो अफगानिस्तानलाई, शकिब अल हसनको लोभलाग्दो प्रदर्शन

काठमाडौं । बंगलादेशले विश्वकप क्रिकेटमा अफगानिस्तानलाई ६२ रनले हराएको छ । इंग्ल्यान्डको साउथहृयाम्पटनमा सोमबार अफगानिस्तानलाई हराउँदै बंगलादेश सात अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । जीतमा शकिब अल हसनको सानदार प्रदर्शन रह्यो । यो जितसँगै बंगलादेशले विश्वकप सेमिफाइनलमा पुग्ने आफ्नो लक्ष्यलाई कायमै राखेको छ भने यस अगिनै बाहिरिसकेको हो ।

२६३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ४७ ओभरमा सबै विकेटको क्षतिमा २०० रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि समिउल्लाह शिनवारीले अविजित ४९ रन बनाए पनि आफ्नो टिमलाई जिताउन सकेनन् । त्यस्तै, कप्तान गुल्बादिन नाइबले ४७, राहमत शाहले २४, नजिबउल्लाह जाड्रानले २३ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

बलिङतर्फ शकिब अल हसनले सनसनीपूर्ण प्रदर्शन गरे । उनले पाँच विकेट लिए । उनकै उत्कृष्ट बलिङमा बंगलादेशको जित सम्भव भएको हो । १० ओभर बलिङ गरेका शकिबले एक ओभर मेडन राख्दै २९ रन खर्चेर ५ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २६२ रन बनाएपछि अफगानिस्तानले मध्यम लक्ष्य पाएको थियो । बंगलादेशको मध्यम स्कोरमा मुश्फिकर रहिमले सर्वाधिक ८३ रन बनाए । ८७ बलमा उनले चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै, शकिबले ५१ रन बनाए । यता, तमिम इकबालले ३६ रन बनाउँदा मोसाद हुसेनले ३५ रन बनाए । बलिङतर्फ मुजिब उर रहमानले तीन र गुल्बादिन नाइबले दुई विकेट लिए ।

विश्वकपमा अफगानिस्तानले लगातार सातौं खेलमा हार ब्यहोर्दै बाँकी दुई खेल रहँदासम्म पनि अंक जोड्न असफल भएको छ । अफगानिस्तान यसअघि नै विश्वकपबाट बाहिरिसकेको छ ।

प्रतिकृया दिनुहोस्