हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

तीब्र गतिका कारण घुम्ती कटाउन नसक्दा १४ जनाको ज्यान गयो

काठमाडौं– संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा १‍४ जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब सवा ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटनामा पर्दा उनीहरुको मृत्यु भएको हो। पाँच जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मादी-६ का वडा अध्यक्ष धननारायण तामाङले १४ जनाको शव निकालिएको जानकारी दिए।

‘१४ जनाको शव निकालिएको छ’ वडा अध्यक्ष तामाङले नेपाल लाइभसँग भने, ‘५ जना घाइतेलाई सदरमुकार चैनपुर अस्पताल लगिएको छ।’ गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् लैजाने तयारी गरिएको उनले बताए।

गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ पठाएइएको संखुवासभा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन्।

पहिचान खुल्यो

प्रहरीका अनुसार मृतक १४ जनाको पहिचान खुलेको छ। मृत्यु हुनेहरुमा मादी नगरपालिका -६ को वर्ष ३० की सिता बिक, वर्ष ३२ की अञ्जना कटुवाल, तुलसा कटवालकी छोरी वर्ष ५ कि दिक्षा कटवाल रहेका छन्। त्यस्तै वडा नम्बर ५ का वर्ष ४९ का भवानी प्र. दाहाल, वर्ष ४८ का दिपक कुमार दाहाल, वर्ष ५५ श्याम शेर्पा र सहचालक उमेश भट्टराई रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि नगरपालिकाको वडा नम्बर २का वर्ष ४२ का ईन्द्र अधिकारी, वडा नम्बर ४ का वर्ष ६० का बल बहादुर कार्की, वर्ष २८ की सबिता कार्की र आइत बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

ताप्लेजुङ ठेगाना भएकी वर्ष ३१ की समीक्षा योञ्जन उनका ८ वर्षीय छोरा सुदिप घिसिङको पनि दुर्घटनामा मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा चालक तेह्रथुम फाक्चामाका ३१ वर्षका विपिन निरौलाको मृत्यु भएको छ।

दुर्घटनाको कारण तिव्र गति?

प्रहरी नायब उपरीक्षक सुवेदीले दुर्घटनाको कारण तिव्र गति रहेको देखिएको बताए। बस तीव्रगतिका कारण घुम्तीमा कटाउन नसक्दा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको सुवेदीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेकाले थप विवरण पछि आउने उनले बताए।

दुर्घटना भएको मादी- ६ का वडा अध्यक्ष धननारायण तामाङले दुर्घटना सात बजेको आसपास भएको सूचना पाउनासाथ आफूहरु दुर्घटनास्थल पुगेर उद्धारमा खटिएको बताए। आफूहरु दुर्घटनास्थल पुग्दा अवस्था अत्यन्तै भयानक देखिएको उनको भनाइ छ। ‘म साढे सातमा दुर्घटनास्थल पुगेको थिएँ। त्यहाँ पुग्दाअवस्था कहाली लाग्दो थियो’ तामाङले भने, ‘सात घुम्तीमामा गाडी नमोडी सिधै खसेको जस्तो देखियो।’

अध्यक्ष तामाङले बस पहिला सडकबाट केही तल खसेको र त्यहाँ बजारिएपछि फेरि तल पुगेको देखिएको बताए। सडकबाट करिब ५० मिटर तल ११ वटा शव भेटिएको र बाँकी तीनवटा शव करिब ३ सय मिटर तल फेला परेको उनले बताए।

‘मोडबाट खसेर बस पहिला ५० मिटरजति तल बजारिएछ र त्यहाँबाट पनि खसेर करिब ३ सय मिटर जति तल पुगेको छ’ उनले भने, ‘सुरुमा बजारिएको ठाउँमा नै ११ वटा शव निकालियो। बाँकी शव तल फेला परेको हो। केही यात्रु उछिट्टिएर घाइते हुनु भएको रहेछ।’ दुर्घटनाका कारण मादी शोकमा डुबेको उनले बताए।