हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

उपमेयर उम्मेदवार गुरुङ भन्छन्, ‘मेरो गाडी अशक्त र असहायका लागि प्रयोग गर्छु’

बुटवल : बुटवलमा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार चिन बहादुर गुरुङले उपमेयरको गाडी अशक्त र असहायका लागि एम्बुलेन्सका रूपमा प्रयोग गर्ने घोषणा गरेका छन् । उनले आफू जनप्रतिनिधि भए पनि जनताको लागि सेवा गर्न जाने भएको सुविधामुखी नहुने बताएका हुन् ।

सोमबार बुटवलमा मतदाताहरू भेटघाट गर्दै गुरुङले उपमेयरका लागि प्रयोग हुने गाडी ज्येष्ठ नागरिक,गर्भवती महिला, बालबालिका तथा विपन्न समुदायका लागि निःशुल्क एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याउने प्रतिबद्धता जनाए । उनले बुटवल उपमहानगरलाई न्याय, समानता र समुन्नतिको सहर बनाउनका लागि नीतिगत, कार्यक्रम र बजेटका हिसाबले प्राथमिककामा राखेर काम गर्ने बताए ।

बुटवल उपमहानगरमा गठबन्धनका तर्फबाट काँग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी रहेको छ भने एमाले र राष्ट्रिय जनमुक्ति पार्टीको गठबन्धन भएको छ । यसअघि बुटवलमा एमालेले जितेको थियो ।