हाम्रो देश
१४ माघ २०७७, बुधवार

घिमिरे बाजेको १० फिट लामो टुप्पी, भन्छन्-मेरो लाश जलाउँदा टुप्पी नजलाइयोस्’

चितवन । भरतपुर महानगरपालिका-९ का ६६ वर्षीय कृष्णनाथ घिमिरे प्राय ढाका टोपी लगाएर हिँड्छन् । त्यतिबेला कसैले पनि अनुमान गरेका हुँदैनन् कि उनको टोपीभित्र १० फिट लामो टुप्पी गुजुल्टिएको छ ।

किसानको छोरा भएकाले कृषि कर्ममा नै उनले आफ्नो जीवन व्यतित गरे । बचेको समय समाजसेवामा खर्चिन्छन् । फूलेको मोटो जुंगा, कालो फ्रेम भएको चश्मा र शिरमा ढाका टोपी उनको नियमित हुलिया हो ।

उनले शिरमा लगाएको ढाका टोपी खोले भने सुरुमा मानिसहरु तर्सिन्छन्, टाउकोमा सर्प बसेछ कि क्या हो भनेर । तर, जब कृष्णनाथले टोपी खोल्न थाल्छन्, उनीहरु अचम्मित बन्छन् । उनको टुप्पी हेर्नकै लागि धेरै मानिसहरु घरमै आउन थालेका छन् । पछिल्लो समयमा त युट्युबरहरुको पनि लाइन लाग्न थालेको छ ।

घरमा बस्दा उनी बालबच्चाहरुसँग खेल्छन् रमाउँछन् । बालबच्चाहरु आफ्नो टुप्पीमा रमाएर खेल्ने गरेको कृष्णनाथले बताए । ‘म आफैं बालवच्चा भनेपछि हुरुक्क हुन्छु, उनीहरु मेरो टुप्पीलाई खेलौना जस्तै मानेर खेल्छन्,’ उनले भने ।

अहिलेसम्म टोपीभित्रै टुप्पी अटाएकाले खासै समस्या भएको छैन उनलाई । तर, अझै बढ्दै गएमा भने उनले बाहिर देखाउनैपर्ने हुन्छ वा टोपीको साइज बढाउनुपर्छ ।

२०३७ सालबाट टुप्पी पाल्न थालेको कृष्णनाथ बताउँछन् । त्यतिबेला उनी मिर्गौलासम्वन्धी समस्या भएर अस्पतालमा लामो समय बस्नुपर्‍यो । यस क्रममा लामो कपालमा लट्टा पर्‍यो । त्यसपछि उनले टुप्पी पाल्न थाले ।

‘यति लामो टुप्पी नै पाल्छु भन्ने मलाई थिएन, तर लामो भयो, अब किन काट्ने ?’ कृष्णनाथले भने, ‘हाम्रो हिन्दू संस्कार जोगाउन पनि मैले टुप्पी पालेको हुँ ।’

‘जुँगे बा’बाट बने ‘टुप्पी बाजे’

टुप्पी पाल्दा मनमा आनन्द र शान्ति मिल्ने गरेको उनले सुनाए । घर परिवारमा कसैले पनि टुप्पी काट्नुस् भनेर नभनेको कृष्णनाथको भनाइ छ । भेट्न आउने जोकोही एकपटक उनको टुप्पी नहेरिकन सन्तोष मान्दैनन् । परिवार वा साथीभाइ कसैले पनि टुप्पी काट्न नभनेको कृष्णनाथले सुनाए ।

‘बरु किन पाल्नुभयो भनेर जिज्ञासा राख्ने धेरै छन्, तर काट्नुस् भनेर अझसम्म कसैले भनेको छैन,’ टुप्पी बाजेको नामले परिचित कृष्णनाथले भने । ‘टुप्पी बाजे’ भनेर कसैले बोलाउँदा उनलाई खुसी लाग्छ । उनलाई पहिला गाउँमा ‘जुँगे बा’ भनेर बोलाउने गरिन्थ्यो ।

‘कृष्णनाथबाट जुँगे बनेँ, अहिले टुप्पी बाजे बनेको छु,’ उनले रमाउँदै भने, ‘भगवानका पनि त अलग-अलग नाम छन् नी ।’

उनले आफ्नो टुप्पीलाई स्याहारसुसार गर्ने गरेको बताए । हरेक दिन नुहाउँछन् । बाथरुमको काँटीमा टुप्पी अड्काएर नुहाउने गरेको उनले बताए । नुहाएपछि उनी केहीबेर घाममा बस्छन् र सुकेपछि ढाकाटोपी लगाएर बाहिर निस्कन्छन् । टुप्पीलाई पनि हरेक दिन नुहाइदिने गरेका छन् ।

गिनिज बुकमा नाम लेखाउने चाहना

जीवनको अन्त्यसम्म नै टुप्पी नकाट्ने उनको योजना छ । आफू मरेपछि पनि टुप्पीलाई भने संरक्षण गरियोस् भन्ने उनले चाहेका छन् ।

‘मलाई जलाउँदा टुप्पीलाई भने सुरक्षित राख्न छोराहरुलाई भनेको छु,’ कृष्णनाथले सुनाए । गिनिज बुक अफ दी वर्ल्ड रेकर्डमा नाम लेखाउने उनको चाहना छ । आफ्नोभन्दा लामो टुप्पी अरु कसैको भए जानकारी गराएर सहयोग गरिदिनसमेत कृष्णनाथले आग्रह गरेका छन् ।

‘मेरोभन्दा लामो टुप्पी अरु कसैको छ कि छैन होला भनेर मलाई कौतुहलता भैरहेको छ,’ कृष्णनाथले भने, ‘यदि कसैको छ भने जानकारी गराइदिन अपिल गर्छु, अब यतिको लामो भैसकेपछि किन गिनिज बुकमा नाम नलेखाउने भन्ने लागेको छ ।’

युवाहरुले टुप्पी पाल्नेहरुप्रति हेपाहा दृष्टिकोण राख्नेबारे सोधिएको प्रश्नमा कृष्णनाथले भने, ‘टुप्पी पाल्दा रिसराग र आवेग हराउँछ, टुप्पी नपाल्ने भएकाले युवाहरु बढी रिसाहा हुन्छन्, । ऋषिमुनीहरु टुप्पी पाल्ने भएकै कारणले गर्दा शान्त र शालिन हुन्छन् ।’

प्रतिकृया दिनुहोस्