हाम्रो देश
११ असार २०७९, शनिवार

केनको ५० औँ गोलमा हारबाट जोगियो इंग्ल्याण्ड

काठमाडौं : ह्यारी केनको पेनाल्टीको मद्दतले इंग्ल्याण्ड यूईएफए नेसन्स लिगमा जर्मनीलाई १-१ को बराबरीमा रोक्न सफल भएको छ । योसँगै केन इंग्ल्याण्डका लागि ५० गोल गर्ने मात्र दोस्रो खेलाडी बनेका छन् । उनले इंग्ल्याण्डका लागि सर्वाधिक गोलकर्ताको सूचीमा सर बबी चार्लटनलाई उछिनेका छन् भने वेयन रुनीभन्दा मात्र ३ गोलले पछि रहेका छन् ।

खेल सकिन दुई मिनेट बाँकी छँदा पेनाल्टीबाट गोल गर्दै केनले इंग्ल्याण्डलाई हारबाट जोगाएका हुन् । यसअघि खेलको ५० औँ मिनेटमा जोनास होफम्यानले जर्मनीलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा इंग्ल्याण्डले पहिलोपटक अंक बटुलेको हो । यसअघि शनिबार इंग्ल्याण्ड हंगेरीसँग पराजित भएको थियो ।