हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

‘व्यवसाय गर्न पाउनुपर्ने’ भन्दै काठमाडौंका व्यवसायी नै सडकमा उत्रिन थाले

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका क्रममा सरकारले लागू गरेको लकडाउनको अवधि थप्ने क्रम नरोकिएपछि काठमाडौंकै व्यवसायी विरोधमा उत्रिएका छन् । लकडाउनका कारण व्यापार चौपट भएको भन्दै जोरपाटीका व्यवसायी मंगलबार सडकमा उत्रिएका हुन् ।

गत चैत ११ गतेबाट सुरु भएको लकडाउन सरकारले जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरिसकेको छ । लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएको र आर्थिक क्षेत्र चौपट भएको भन्दै लकडाउन खुकुलो पार्न चौतर्फी दबाब बढेको छ ।

तर संक्रमितको संख्या तीनप्रतिदिन बढ्दै गएको भन्दै सरकारले लकडाउन लम्ब्याउने क्रम जारी राखेको छ । आज प्रदर्शनमा उत्रिएका व्यवसायीलाई प्रहरीलाई लखेट्नुका साथै केहीलाई नियन्त्रणसमेत गरेको थियो । नियन्त्रणमा लिइएकालाई केही बेरमा प्रहरीले छोडिदिएको थियो ।

जोरपाटीबाहेक अन्य क्षेत्रका व्यवसायीले पनि पसल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भन्दै प्रशासनसँग माग गर्दै आएका छन् । सामाजिक सञ्जालमा पनि उनीहरुले लकडाउन लम्ब्याउँदा आफूहरु भोकै मर्ने अवस्था सिर्जना भएको भन्दै यसलाई खुकुलो पार्न वा मोडालिटी फेर्न सुझाव दिइरहेका छन् ।