हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

ग्यास लिक भई जलेर घाइते भएका तीन जनाको मृत्यु

काभ्रे, जेठ २१ गते । गत जेठ १६ गते बनेपा नगरपालिका वडा न ७ तरकारी बजारमा ग्यास लिक भई जलेर घाईते भएका पाँच जनामध्ये तीन जनाको मृत्यु भएको छ । एकै परिवारका उनीहरूको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले घाइतेमध्ये तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार १४ वर्षीय बालक अनिश शाह ठकुरीको बुधबार दिउँसो निधन भएको छ भने १६ वर्षीय आयुष शाह ठकुरी र २६ वर्षीय रुकेश भनिने सुशील ठकुरी शाहकाे मङ्गलबार मृत्यु भएको हाे ।

तेमाल गाउँपालिका वडा नम्बर ७ घर भई बनेपा नगरपालिका वडा नम्बर ७ को तरकारी बजारमा बस्दैआएका रत्नकुमार ठकुरीको परिवारका पाँच सदस्यहरू ग्यास लिक भई दुर्घटनामा परेका थिए । घाइतेहरू पूरै जलेको अवस्थामा थिए । उनीहरूको फोक्सोमा ग्यास पसेर असर पुर्याएकाले उपचार सम्भव नभएको अस्पतालले जानकारी दिएको छ । अन्य दुई जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।