हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

कोरोना सर्ने भन्दै तरकारी नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, २३ जेठ । किसानको उत्पादनबाट कोरोना फैलिन्छ भनेर अनधिकृत रूपमा तरकरी नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न संसदीय समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकले कानून हातमा लिएर किसानको उत्पादन नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएको हो ।‘

कोभिड १९ को समयमा फलफूल तथा तरकारी नष्ट गर्नेलाई कानुन बमोजिम कारबाही गर्नू र  यस्ता वस्तुको ढुवानी तथा बिक्रि वितरणम सहजीकरण गर्नू,’ समितिले गृह मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

केही समय पहिले पोखरा, कपिलवस्तुलगायतका जिल्लामा वडाअध्यक्षहरूकै अगुवाइमा किसानको तरकारी नष्ट गरिएका समाचार सार्वजनिक भएका थिए । कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले कुनै वैज्ञानिक आधारबिना तरकारी नष्ट गरेकोमा व्यापक आलोचना भएको थियो ।

‘कोभिड- १९ रोकथाम गर्ने सम्बन्धमा कानूनलाई हातमा लिइ अनधिकृत रूपमा तरकारी तथा फलफूल नष्ट गर्ने सम्बन्धित व्यक्तिलाई कानुनबमोजिम कारबाही गरी किसानका तरकारी निर्वाध रूपमा ओसारपसार गर्न सक्ने व्यवस्था गर्नू,’ समितले गृहमन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई खाद्य पदार्थमा हुने अखाद्य पदार्थको मिसावट रोक्न र आवश्यक खाद्यान्न संचिति कायम गरी महामारीमा खाद्यान्न अभाव हुन नदिने कार्य अगाडि बढाउन निर्देशन दिएको छ ।यस्तै समितिले प्रमुख खाद्यन्न बाली उत्पादनमा जोड दिन, जमिनको चक्ला बन्दी गरेर खेती गर्ने प्रणाली अपनाउन, कृषकलाई आवश्यक पर्ने कृषि सामाग्री समयमै उपलब्ध गराउन तथा कुखुराको गुणस्तरीय दाना तथा औषधि किसानलाई उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।