हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

सहरमा रोजगारी गुम्यो, गाउँमा खेती गर्न बीउ र मल छैन

बर्दिया, २३ जेठ । ज्यालादारी काम गर्न काठमाडौं गएका २१ र २५ वर्षीय २ छोरा गत वैशाख ३ मा तीन दिन लगाएर जेनतेन गाउँ फर्केपछि बुधनी चौधरीले खुबै खुसी मानिन् । १५ दिन गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेर दुवै छोरा घर पस्न पाए । तर लकडाउन लम्बिँदै जांँदा अर्को समस्या आइलाग्यो । पैसा अभावमा उनले उन्नत जातको धानको बीउ किन्न पाइनन् ।स्थानीय जातको बीउ किनेर ब्याड बनाइन् । तर त्यसलाई हुर्काउने मल पाइनन् ।

बुधनीले ऋण काढेर भए पनि मल किन्ने सुर गरेकी थिइन् । तर जिल्लाभर मलको हाहाकार छ । अब धानको बीउमलबिना कसरी हुर्किएला र कसरी राम्रो उब्जनी देला भन्ने चिन्ताले उनलाई छोप्न थालेको छ ।बुधनीजस्तै बर्दियाका अधिकांश किसान यतिबेला लकडाउन र बीउमल हाहाकारको दोहोरो चपेटा झेलिरहेका छन् । मल र बीउ नपाएर कैयौं किसानले समयमा बीउ राख्न पाएका छैनन् ।

बीउ राखेकाहरुले पनि समयमै मल नपाएकाले धान उत्पादनमा असर पर्ने देखिएको छ । रोजगारीमा भारतमा र नेपालकै सहरहरुमा रहेका हजारौं स्थानीय लकडाउनका बेला अनेक दु:ख सहँदै गाउँ फर्किएका छन् तर ग्रामीण आधार खेती किसानी पनि विस्तारै संकटमा पर्दै जाँदा उनीहरुमा चिन्ता थपिएको छ ।पोखराको एक फ्रेस हाउसमा काम गर्ने बढैयाताल गाउँपालिका-४ नयाँबस्तीका सोम चौधरी चैत पहिलो साता घरमा पूजा भएका कारण आएका थिए ।

लकडाउन भएपछि उनी यतै अड्किए । पोखराको जागिरको कुनै भर नभएकाले उनी बन्धकी लिएको डेढ विगाहमा धान लगाउन कस्सिए । तर सुरुमै उनलाई धानको बीउ पाउन गतिलै दौडधुप गर्नुपर्‍यो । सोमले सुनाए, ‘अर्डर गरेको एक सातापछि बल्ल बीउ पाएँ । त्यो पनि पहिलेभन्दा महँगो मूल्यमा ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।