हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

सुर्खेतमा कोरोना सङ्क्रमित एक युवकको मृत्यु

सुर्खेत – कोरोना सङ्क्रमित अर्का एक जनाको पनि मृत्यु भएको छ । क्वरेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि बुधबार घर फर्किएका पञ्चपुरी नगरपालिका-१ हाँसे गाउँका २० वार्षिय युवकको बिहीबार ज्यान गएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।

मृतक गएको जेठ ७ गते भारतबाट फर्किएर जनता मावि विद्यापुरको क्वरेन्टीनमा बस्नु भएको थियो । ज्यान गुमाएका युवकलाई एक हप्ता परिवारसँग टाढा भएर बस्न सुझाव दिएपछि उहाँसहित पाँच जना छुट्टै बस्दै आउनुभएको थियो ।

प्रमुख वाग्लेका अनुसार युवकको ज्यान गएपछि वीरेन्द्रनगरमा गरिएको पीसीआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उहाँले स्थानीय पालिकासँग समन्वय गरेर नेपाली सेनाले शव व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

योसँगै कोरोना सङ्क्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । कर्णाली प्रदेशमा कोरोनाका कारण दुई जनाको ज्यान गएको छ भने अहिलेसम्म तीनसय ८९ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।