हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

भैरहवाको गर्मीमा पनि फल्यो स्याउ !

मनोरञ्जन शर्मा, भैरहवा। तराई त्यो पनि उच्च गर्मी हुने क्षेत्र भैरहवामा स्याउ फल्यो भन्दा सबैलाई सुन्दैमा अचम्म लाग्छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा फल्ने स्याउ भैरहवा जस्तो गर्मी स्थान (जहाँ तापमान ४६डिग्री सेल्सियस सम्म पुग्छ) मा कसरी सम्भब छ भनेर भन्नु पनि स्वाभाबिक पनि हो । तर यो सत्य हो भैरहवाका युवा कृषक आशा गुरुङले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ भुजौलीमा स्याउ खेती गत बर्ष देखि सुरु गरेका छन् र अहिले उन्ले गरेको स्याउ खेतीमा केहीमा फल पनि लागेको छ ।

कृषि कर्ममा केही नयाँ गरौ भन्ने उद्धेश्यले लुम्बिनी अग्र्यानिक फर्म एन्ड रिसर्च सेन्टर स्थापना गरी कृषिमा होमिएका गुरुङको स्याउ बारीमा ५ सय ५० वटा स्याउका रुख रहेका छन् । ३ बर्षमा फल्छ भन्ने लागेको थियो तर पहिलो बर्षमानै धेरैमा फुल फुल्यो भने केहीमा फल समेत फल्यो, अब अर्को बर्ष राम्ररी फल्छ भन्ने आशा लिएको छु ।’ स्याउबारीमा अष्ट्रेलियन नानो प्रजातिको बिरुवा ल्याएर रोपिएको र यो प्रजातिको बिरुवामा ४८ डिग्री तापमानमा पनि फल लाग्ने हुँदाआफूले केही नौलो कृषि कर्म गरौ भनि यो स्याउ खेती सुरु गरेको गुरुङको भनाइ छ ।

पहिलो बर्षमै फल लागेको , अर्को बर्ष प्रति बिरुवा २५ केजी र तेश्रो बर्षमा प्रति बिरुवा १ सय केजी सम्म स्याउ फल्ने अपेक्षा गुरुङको रहेको छ । अन्य स्याउहरु असोज महिना बाट फल्न सुरु हुने तर यो प्रजातिको स्याउ भने पुषको तेश्रो साता बाट फल्न सुरु भइ मार्च अप्रैल मे सम्म फल फलिसक्ने भएकाले अन्य सिजनको स्याउ फलेर खतम हुँदा यस्को सिजन सुरु हुने भएकाले अफ सिजनमा बजारमा स्याउ पठाउन सकिने उनको विश्वास छ ।

आरु र स्याउलाई कलमी गरी यो प्रजातिको स्याउको बिरुवा तयार भएको र गर्मीहुने नेपालका तराई क्षेत्रमा धेरै सम्भावना पनि रहेकोले आफुले थप स्याउ खेती गर्ने र बिरुवा समेत तयार गरी बिक्री गर्ने योजना रहेको बताए। अहिले यो खेतीगर्दा एक बिरुवा खरिद गरी ल्याएर खाडल खनी , मलजल गर्दा मजदुर खर्च सहित करिब २ हजार ५ सय रुपैयाँ प्रति बोट प्रारम्भमा लगानी भएको गुरुङको भनाइ छ ।

नेपालका बिभिन्न कृषि बिज्ञ, फलफूल बिज्ञ लगायतले तराई क्षेत्रमा स्याउ खेती सम्भव नै नभएको भनेर यो खेती नगर्न सुझाउदा आफु डराएको र डरै डरमा खेती सुरु गर्दा सफल भएको बताए । स्याउको बिरुवा दिने कम्पनीले पनि सुरुमा प’रीक्षणका रुपमा ४०।५० वटा बिरुवा लगेर परीक्षणका रुपमा गर्न सुझाब दिए पनि आफुले जोखिम मोलेरै व्यवसायिक रुपमा स्याउ खेती सुरु गरेको गुरुङको भनाइ छ ।

सरकारबाट अलि राम्रो नीति भएमा कृषकहरुलाई सजिलो हुने तर सरकारको मुखै ताकेर बसे यो कृषि कर्ममा सफल भने नभईने गुरुङको भनाइ छ। तराईको उच्च गर्मीमा स्याउ सहितको अन्य फलफूल र कृषि कर्मको योजना उनले २ दशक अघि जर्मनीमा रोज गारीमा रहदा देखेका थिए । त्यति बेलाको सपना पूरा गर्न बेलायतको पीआर समेत छाडेर यही बसेका गुरुङको फर्ममा उनले बिभिन्न फलफूलसंगै अग्र्यानिक तरकारीहरु फलाएर बिक्री गर्दै आएका छन्। चिसो मौसममा फल्ने स्टबेरीको व्यवसायिक खेती समेत उन ले गत बर्षदेखि सुरु गरी मनग्ये आम्दानी लिन सफल भएका थिए ।