हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

नेपालका यी ६ जिल्ला अझै कोरोना संक्रमणबाट टाढा छन् !

काठमाडौं। कोरोना भाइरसको संक्रमण नेपालका ७१ जिल्लामा फैलिसकेको छ। पछिल्लो पटक रोल्पामा पनि संक्रमित देखिएपछि अब ६ जिल्ला मात्र सुरक्षित देखिएका छन्। प्रदेश-१ मा इलाम र ओखलढुंगा कोरोना संक्रमणबाट सुरक्षित छन् ।यस्तै, वागमती प्रदेशको रसुवा अहिलेसम्म सुरक्षित छ। गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङ पनि अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन्।

कर्णाली प्रदेशको पश्‍चिम रुकुममा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।२३ जेठमा कर्णालीको हुम्ला तथा गण्डकीको गोरखा र कास्कीमा संक्रमित फेला परेका थिए।

यस्तै, २४ जेठमा कर्णालीकै जाजरकोट र डोल्पामा पहिलोपटक कोभिड-१९ का बिरामी भेटिएका छन्। २५ जेठमा प्रदेश-५ को रोल्पामा पनि संक्रमित भेटिएका छन्।

यससँगै नेपालमा कोरोना संक्रमण फैलिएका जिल्ला ७१ पुगेका हुन्।सुदूरपश्‍चिमका नौवटै, कर्णाली प्रदेशका १० मध्ये नौ, प्रदेश-५ का १२ वटै, गण्डकी प्रदेशका ११ मध्ये नौ, वागमती प्रदेशका १३ मध्ये १२, प्रदेश-२ का आठवटै र प्रदेश-१ का १४ मध्ये १२ जिल्लामा कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहानसम्म देशभर तीन हजार चार सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ।