हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

मेलम्चीमाथि उठ्ने प्रश्नको बिट मार्ने बेला आयो, चाँडै उद्घाटन मिति सार्वजनिक गर्छौं : मन्त्री मगर

काठमाडौं- खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सरकारले चाँडै मेलम्ची खानेपानी आयोजना उद्घाटनको मिति सार्वजनिक गर्ने बताएककी छिन्। विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको संसदमा जवाफ दिँदै मन्त्री मगरले आगामि आर्थिक वर्षको शुरुमै आयोजनाको काम सकिन लागेको र अब यो आयोजनाका विषयमा वर्षौंदेखि उठ्दै आएका प्रश्नको बिट मार्ने बेला आएको बताएकी हुन्।

‘वर्षौवर्षदेखि मेलम्ची खानेपानी आयोजना माथि प्रश्न उठिरहन्छ। यो आयोजनाका सन्दर्भमा हामीले प्रतिवद्धता पनि जाहेर गरिसकेका छौं। यो आयोजनाको भौतिक काम चालु आर्थिक वर्षभित्रै र त्यसको वितरण प्रणाली आगामि आर्थिक वर्षभित्रै सम्पन्न गरिसक्ने छौं,’ मन्त्री मगरले भनिन्।

मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको काम यथाशीग्घ्र सकेर आगामि आर्थिक वर्षको पहिलो त्रैमासमा नै काठमाडौं उपत्यकामा पानी पठाएर परिक्षणको काम शुरु गरिने उनको भनाई छ। मेलम्चीबाट आउने पानी पहिलो चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सेवा क्षेत्रभित्र वितरण गरिने र दोस्रो चरणमा क्रमशः अन्य क्षेत्रमा जाने पनि उनले बताइन्।

त्यस्तै काठमाडौं उपत्यकामा प्रतिदिन ३ करोड २४ लाख लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्रहरु हाल परिक्षणको क्रममा रहेको र चाँडै संचालनमा आउने पनि उनले बताइन्।

तीन वटै सरकारको समन्वयमा पूर्ण सरसफाई उन्मुख कार्यक्रम साथै तराइ क्षेत्रमा १५ हजार, पहाडि क्षेत्रमा ५ हजार र हिमाली क्षेत्रमा १ हजार भन्दा बढी आयोजनाबाट खानेपानी सेवा पुर्याउने आयोजनाहरु उक्त मन्त्रालयबाट कार्यान्वयन गरिने उनले बताइन्।

आगामि आर्थिक वर्षभित्रै ९४ प्रतिशत जनसंख्यामा आधारभुत खानेपानी सेवा र ३२ प्रतिशत जनसंख्यामा मध्यम तथा उच्चस्तरीय खानेपानी सेवा पुर्याउने लक्ष्य रहेको पनि मन्त्री मगरको भनाई छ। आगामि आर्थिक वर्षमा विभिन्न सहरी क्षेत्रमा २२ आयोजना सम्पन्न गरी ४ लाख १६ हजार जनसंख्यालाई स्वच्छ खानेपानी सेवा पुर्याउने लक्ष्य मन्त्रालयको रहेको पनि उनले बताइन्।

नयाँ कार्यक्रम अनुसार हरेक जिल्ला सदरमुकाम तथा साना सहरहरुमा खानेपानी सेवा पुर्याउनका लागि आयोजना बैंकको अवधारणाअनुसार अगाडि बढ्ने पनि मन्त्री मगरको भनाइ छ।