हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

५ चरणमा लकडाउन खुकुलो बनाइंदै, तयारी अन्तिम चरणमा

काठमाडौं, २७ जेठ । कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ । त्यसका लागि ५ चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य भइरहेको बताइएको छ ।असार १ बाट लागू हुने गरी अघि सारिएको उक्त प्रस्तावलाई स्वास्थ्य क्षेत्रका प्राविधिक तथा चिकित्सकहरूले अध्ययन गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको ५ चरणको लकडाउन मोडालिटीलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सबै सुरक्षा अंगका प्रमुखहरू र विभिन्न मन्त्रीहरूबीच उक्त प्रस्तावलाई लिएर छलफल भएको थियो । छलफलका आधारमा ५ चरणको लकडाउन खुकुलो बनाउने मोडालिटीलाई थप परिष्कृत गर्न लागिएको सचिव विडारीले जानकारी दिए ।आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई खुकुलो बनाउन उच्चस्तरीय समितिले सुरुमा तीन चरणको मोडालिटी अघि सारे पनि अहिले ५ चरणको नयाँ मोडालिटीलाई नै अघि बढाउने लक्ष्य राखिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।