हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

क्वारेन्टाईनमा बसेका युवालाई सर्पले डसेपछि….

बाँकेको एक क्वारेन्टाईनमा बसेका ब्यक्तिलाई सर्पले डसेको छ । जानकी गाँउपालिका १ बढौयामा रहेको क्वारेन्टाईनमा बस्दै आएका एक युवालाई सर्पले डसेको हो । नेपाल राष्ट्रिय प्रा.विमा निर्माण गरीएको क्वारेन्टाईनमा अहिलेसम्म तिन पटक सर्पले आतङ्क मच्चाएको वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए ।

१९ जनालाई राखिएको उक्त क्वारेन्टाईन स्थलमा पटक-पटक सर्प देखिदैं आएका थिए । सोमबार राती १० बजे क्वारेन्टाईनमा रहेका ब्यक्तिलाई ग्राईच नामको विषालु सर्पले टोकेको वडाध्यक्ष राईले बताए । सर्पले टोकेलगत्तै उपचारको प्रयास गरेपनि सम्बन्धित पक्षले आफुलाई सहयोग नगरेको वडाध्यक्ष राईले गुनासो गरे ।

बिरामीलाई अस्पताल लैजानकालागि एम्बुलेन्स मगाउँदा समेत कसैले चासो नदेखाएको राईले बताए । गाँउपालिका प्रमुख, स्वास्थ्य शाखा प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका जिम्मेवार पदाधिकारी सबैलाई राती नै सम्पर्क गर्न खोजेपनि कोही सम्पर्कमा नआएपछि मंगलबार बिहान मात्रै ति ब्यक्तिलाई भेरी अस्पताल लगिएको वडाध्यक्ष राईले बताए ।

रातीको समयमा अस्पताल लैजान सम्भव नभएपछि स्थानिय गुरुवाको मद्धत्तले विष झार्ने काम गरीएको र बिहान एम्बुसेन्स मगाएर अस्पताल पठाइएको राईले जानकारी दिए ।

आफ्नो वडामा आईसोलेशन सहितका ४ वटा क्वारेन्टाईन राखीएपनि न्युनतम सुविधाको समेत ब्यवस्था नगरिएको प्रति वडाध्यक्ष राईले आक्रोश ब्यक्त गरे । ‘आईसुलेशन सेन्टरमा चिकित्सक र एउटा एम्बुलेन्स अनिवार्य हुनुपर्ने हो’ राईले भने ‘तर यहाँ न त चिकित्सक नै बस्नुहुन्छ, न त एम्बुलेन्सको सुविधा छ ।’