हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

गाई लिएर क्वारेन्टाईनमा: ‘गल्ति छैन, सजाय भोग्दैछु’ !

‘गल्ति छैन, सजाँय भोग्दैछु । श्रीमानलाई कोरोना भएकै कारण मैले सजाँय काटिरहेको छु । श्रीमान मेरो हो रोग होईन । ‘१५ महिना पछि घर फर्किएका श्रीमानसँग आत्मियता साट्न मन भए पनि अलग्गै राखेर खान दियौं । अलग्गै सुतायौं । अघिल्लो साँझ कोरोना नभएको भनिएका श्रीमानलाई विहान ११ बजेर २९ मिनेटमा कोरोना भएको खवर पछि मेरो परिवार प्रति गरिएको ब्यवहारले मन दुखेको छ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन्।

शुक्रबार पाँचखालमा ३९ बर्षिया एक युवामा कोरोना संक्रमण देखियो । पाँचखाल नगरपालिका वडा नम्वर ३ घर भई विगत ६/७ वर्ष देखि भारतको हरियाणामा रहेको एक होटलमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । कोरोना भाईरसका कारण छिमेकी देश भारत र नेपालमा पनि लकडाउन भयो ।

होटल बन्द भए पछि क्वारेन्टाईनमा बसे । नेपालले भारतमा रहेका नेपालीहरु फर्कन दिने भए पछि सिन्धुपाल्चोकका २३ जनाको समुहमा जेष्ठ १३ गते काभ्रे आए । जिल्ला फर्किए पछि क्वारेन्टाईनमा बस्ने शर्तमा उनि फर्किएका थिए ।

पाँचखाल नगरपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाईनमा ११ दिन बसे । सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका १० घर भएका युवालाई कोरोना भाईरस संक्रमण देखिए पछि उनको परिक्षण गरिएको थियो । धुलिखेल अस्पतालमा पठाईएको स्वाव अघिल्लो दिन नै परिक्षण हुनु पर्नेमा भोलिपल्ट भएको र अघिल्लो दिन परिक्षण गरिएका सबै स्वावहरुमा कोरोना नदेखिए पछि त्यहि सूचना प्रवाह भयो । उनलाई क्वारेन्टाईनबाट जेठ २२ गते विहिबार घर पठाईयो ।

साँझ ६ बजे १६ बर्षिय र १३ बर्षिय दुई छोरा लिन आए । बाबुको ब्याग उनिहरुले बोके । अलिक पर पुगेपछि घर नजिकै पुग्ने बाईक आईपुग्यो । बाईकमा चढेर उनि घर पुगे । श्रीमती र दुई छोरा सहित लामो समयको भेटघाटलाई पारिवारीक र आत्मिय बनाए । पारिवारीक कुराकानी भयो । तर सुत्ने, खाने र शौचालय समेत अलग बनाईयो ।

भोलिपल्ट शुक्रबार विहान खाना खाए लगत्तै उनलाई नगरपालिकाबाट फोन आयो तत्काल क्वारेन्टाईन आउनु । दौडिएर आए । सँगै श्रीमती पनि आईन् । कतै श्रीमान भागेर पो आएनन् ? नगरपालिकामा पुगे पछि युवालाई धुलिखेल अस्पताल लगेर फेरी कोरोना परिक्षण गर्नु पर्ने भन्दै राखियो । श्रीमती घर फर्किइन । बाटोमा भेटिएका मान्छेहरु बोलेनन् । घर पुग्दा टन्न मान्छेहरु जम्मा भईसकेका रहेछन् । श्रीमानलाई कोरोना भएको भन्दै सबैले घेरे ।

म के गरु ? के नगरुमा परें ? श्रीमतीले भनिन् । ‘सुरक्षा हुन्छ, श्रीमानलाई कोरोना भएको रहेछ भने अन्यत्र फैलन नपाओस् भनेर क्वारेन्टाईनमा राखियो आखिर त्यसकै सजाँय मैले भोगिरहेको छु’–उनले भनिन् । साँझ नपर्दै दुई छोरा र उनलाई नगरपालिकाको क्वारेन्टाईनमा राख्न गाडी लिन गयो । घरमा दुई महिना अघि सुत्केरी भएको गाई थियो । दैनीक ११ लिटर दुध दिन्छ । दुध विक्रीबाट दैनीक ८ सय रुपैया आउँथ्यो ।