हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

७४ वर्षको उमेरमा आफ्नै घर, खुसीको सीमा छैन

कानेपोखरी(मोरङ), जेठ २७ गते । मोरङको कानेपोखरी गाँउपालिकाको जनता आवास कार्यक्रम अन्तरगत वडा नं. २ का अतिविपन्न २५ परिवारले निःशुल्क घर पाउनुहुने भएकाे छ ।

देशमा चलिरहेको बन्दाबन्दीका बावजुद गत जेठ २१ गते विपन्न परिवारका लागि घर निर्माण अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताउनुभयो । गाउँपालिकाले लाभग्राही उपभोक्ताको सहभागितामा उपभोक्ता समिति गठन गरिदिएको छ । समिति गठन भएसँगै लाभग्राहीहरू आफ्नो घर धमाधम निर्माण गर्न लागेका छन् ।

घर बन्न सुरु भएसँगै अति विपन्न परिवारमा खुसी छाएको छ । बाबुराम काफ्ले ७४ वर्षको उमेरमा आफ्नै घरमा बस्न पाइनेमा ढुक्क हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘आकाश मडारिन थालेपछि चिन्ता सुरु हुन्थ्यो ।

अझ हावाहुरीसँगै पानी पर्दा ओभानो कतै हुन्नथियो ।’ उहाँले १५ दिन अघिको हावाहुरीले घरको छानो उडाउँदा बुढाबुढी नै खाटमुनि बसेर ज्यान बचाएको स्मरण गर्नुभयो । काफ्लेले पाखुरामा बल हुन्जेल खेतीपाती त गर्नुभयो । तर कमाएको पैसाले एक टुक्रा जग्गा किन्नै नपुगेपछि घर बनाउन सक्ने कुरै भएन । ऐलानी ८ धुर जग्गामा उहाँ अहिले घर निर्माण गरिरहनुभएको छ ।

अझ ४६ वर्षीया सगिया मुसहरका पीडालाई नयाँ घरले भुलाउन थालेको छ । बर्सेनि जस्तो जन्मिएका सन्तानलाई पालन पोषण गर्न नसकेपछि उहाँको परिवार नै भारत छिर्यो । भारतमा १२ वर्ष बसेपछि नेपाल फर्कनुभएकी सगियाका तीन भाइ छोराहरू नेपाल फर्केनन् ।

तीन भाइ छोराले कमाएको पैसाले पनि सगियाले न जग्गा जोड्न सक्नुभयो, न त निजी घर बनाउन । सधैँ भातका लागि पाखुरा चलाउनुपर्ने समस्या । खरको छानो भएको घर, बर्सेनि छाप्ने , बार्ने र लिपपोतको बन्दोबस्त नमिलाए पानी पर्दा प्लाष्टिक ओडेर बस्नुपर्ने बाध्यता थियो ।
अहिले सगियाको घर धमाधम निर्माण भइरहेको छ । उहाँले भन्नुभयो, ‘घर त बन्यो । अब बसेको जग्गा पनि आफ्नो नाममा भयो भने राम्रो हुने थियो ।’

अखाडु मुसहर ६५ वर्षको हुनुभयो । उहाँको बाजे पनि सोही स्थानमा अधियाँ र कृषि मजदुरी गर्नुहुन्थ्यो । तर, अखाडुले अझै घामपानी छल्ने घरमा बस्न पाउनुभएको थिएन । उहाँले भन्नुभयो, ‘हाम्रो पाँच पुस्ता यही ठाउँमा जन्मियो, हुर्कियो । बाजे पनि सुकुम्बासी, नाति पनि सुकुम्वासी ।’ उहाँले गाउँपालिकाले घर बनाइदिने भएपछि खुसी हुँदै भन्नुभयो, ‘अब घर बनाएको जग्गाको धनीपुर्जा पनि दियो भने मर्ने बेलामा शान्ति मिल्छ ।’

बाबुराम, सगिया र अखाडु प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । जीवनभर घामपानी सम्म नछेल्ने घरमा बसेर गुजारा गरिरहेका कानेपोखरी-२, थानटोलीका विपन्न परिवार मानो रोपेर मुरी फलाउने मौसममा घर बनाउने काममा व्यस्त हुँदा चिन्ता प्रकट गरिरहेका छन् । तर, बन्दाबन्दीले गर्दा समयमा काम थाल्न नपाएको उनीहरू सबैलाई थाहा छ । २७ वर्षीय भूपाल मुसहरले भन्नुभयो, ‘लकडाउनले गर्दा काम ढिलो सुरु भयो ।’

कानेपोखरी गाउँपालिकाले युएन हेबिटेट र सहारा नेपालको सहयोगमा २५ परिवारलाई घर निर्माण गर्न सुरु गरेको जनता आवास कार्यक्रमका सचिव एवम् सहजकर्ता तारा ओझाले बताउनुभयो । ओझाका अनुसार निर्माणमा प्रतिघर एक लाख ७५ हजार रुपियाँ खर्च हुनेछ ।

जसमध्ये सहयोगी संस्थाले एक लाख र गाउँपालिकाले ७५ हजार रुपियाँ व्यहोर्ने छ । घरमा १० फिट लम्बाइ र १० फिट चौडाइका दुई वटा कोठा र १० फिट लम्बाइ र ६ फुट चौडाइको एउटा कोठा बरण्डामा रहने छ । जस्ताको छानासहितको घर निर्माण भएपछि असार २५ गते घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।