हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

रुपन्देही सामूहिक हत्याकाण्डमा हत्या आरोपीको बयान: ‘मैले फरुवाले हानेर पाँचैजनाको हत्या गरेको हुँ’

बुटवल – रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्यास्थल नजिकै लुकेर बसेका हत्या आरोपीले कसुर स्वीकार गरेको प्रहरीले बताएको छ ।गाईभैँसीको गोठअगाडि सुतेका पाँचजनाको हत्या आफूले गरेको ती व्यक्तिले प्रारम्भिक बयानमा स्वीकार गरेको प्रहरीको भनाई छ ।
घटनास्थल नजिकै परालमा लुकेर बसेका सुर्खेत घर भएका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवाले हानेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हेमकुमार थापाले बताए ।

सोमबार राति तिलोत्तमा नगरपालिका वडा नं १० मैनहवास्थित कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा काम गर्ने तीनजना र गाउँका अरु दूईजना गरी पाँचजनाको हत्या भएको थियो ।

सैनामैना मुर्गियाका ४१ वर्षे माधव मुसहर, ३७ वर्षकी जानकी मुसहर, १४ वर्षीय रमेश भनिने पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीको हत्या भएको हो । माधव र जानकी श्रीमान–श्रीमती हुन्न् । पोषराजलाई फार्म सञ्चालक रामबहादुर पुनले धर्मछोराका रुपमा पालेका थिए।

करण र आशिष रमेशका साथी हुन। उनीहरु रमेशसँग समय बिताउनका लागि प्रायः रातिमा गोठमा आएरै बस्ने गरेको फर्म सञ्चालक पुन बताउँछन् ।

श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि झसेन्द्र करिब दुई महिनाअघि मात्रै सो फर्ममा काम गर्न आएका थिए । उनले श्रीमतीले छाडेर गएको र आफू एक्लै रहेकाले तनाव हुने गरेको स्थानीयसँग बताउँदै आएका थिए । स्थानीय दिपुष्पा थारुले श्रीमतीले छाडेपछि तनाव हुने गरेको र आफ्नो कोही पनि नरहेको सिंजालीले बताउने गरेको बताइन् । स्थानीयका अनुसार उनले दैनिकजसो मदिरा सेवन गर्ने गर्थे । उनले फरुवाले टाउकोमा हिर्काएर हत्या गरेको बताएको प्रहरी श्रोत बताउँछ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीका अनुसार मृतकहरुको टाउको र घाँटीमा चोट लागेको देखिएको छ ।

सिंजाली र माधवका बिचमा गत १४ गते झगडा परेको माधवका छोरा करण मुसहर बताउँछन् । ‘बाबा र त्यो अंकलबिच झगडा परेको थियो’, उनी भन्छन्, ‘उहाँहरुबिच कहिले पनि कुरा मिल्दैनथ्यो, बाबाले काम राम्रोसँग गर्नुपर्छ भन्नुहुन्थ्यो तर अंकलले आफ्नो मनलाग्दी गर्नुहुन्थ्यो । भैसीलाई राम्रोसँग घाँस हाल्नुपर्छ भन्दा झर्किनुहुन्थ्यो ।’

प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएका सिंजालीलाई प्रहरी कार्यालयमा राखेको छ भने शव पोष्टमार्टमका लागि लग्ने तयारी छ । घटनाबारे थप अनुसन्धान भइसकेपछि मात्रै विस्तृत विवरण आउने घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले बताए ।