हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

‘सन्की व्यक्ति’ले पब्जी खेल्न गएका दुई किशोरसहित लिए पाँच जनाको ज्यान

बुटवल : रुपन्देहीको तिलोत्तमा-१० मैनिहवाका चुलाही थारुलाई गाँउबाट फोन गयो। बिहानको पौने छ बज्दै थियो। भर्खर उठेका उनलाई फोनमा कसैले सोध्यो,‘तपाईको कान्छो छोरा कहाँ छ ?’ उनी अकमकिए। ‘साथीसँग गाईफर्मतिर गएको होला’, उनले उत्तर दिए। ‘तपाईं तुरुन्त आउनुस्’ भन्दै फोन काटियो।

उनी झस्किए। के भयो भन्दै हस्याङफस्याङ मैनिहवाकै गंगादेवी गाईफर्म आए। कान्छो छोरा आशिष चौधरी (थारु)को शव रक्ताम्य अवस्थामा गाईफर्मभित्रै लडिरहेको थियो। टाउको समातेर भक्कानिए। थचक्क बसे। कारपेन्टरको काम गर्ने चुलहीका दुई छोरा हुन्। आशिष स्थानीय स्कुलमै कक्षा ८ मा पढ्थे। लकडाउनपछि विद्यालय बन्द छ। सोही मौकामा उनको साथीको घरमा आउजाउ चलिरहेकै थियो। सोमबार पनि त्यसैगरी उनी करण चौधरीसँगै गाईफर्म पुगे।

१८ वर्षीया करण, स्थानीय गया चौधरीकै जेठा नाती हुन्। उनका बुवा वैदेशिक रोजगारीको शीलशीलामा देशबाहिर छन्। गया गाउँकै इँटाभट्टामा चौकीदारी गर्छन्। करण कता जान्छन् भन्ने परिवारलाई त्यति जानकारी पनि थिएन्। करणले आशिषलाई लिएर सोमबार साँझ उनका साथी रमेश भनिने पोषराज मुसहरकहाँ आएका थिए। पोषराज गाईफर्ममा काम गर्थे। गाईफर्मका सञ्चालक दाजुभाइ कृष्णबहादुर पुन र रामबहादुर पुनले छोराकै हैसियतमा राखेका थिए।

गंगादेवी फर्ममा छिमेकीकोमा जोडिएको इन्टरनेट मोवाइलमा टिप्छ। त्यही इन्टरनेटमा जोडिएर उनीहरु ‘पब्जि गेम’ खेल्थे। पोषराजसँग मोवाइल छैन। अन्य दुई साथीले मोवाइल बोकेर आउथे। सोमबार पनि त्यही गेम खेल्ने बहानामा उनीहरु गाईफर्ममै बसे।

गाईफर्ममा दुई वर्षदेखि काम गर्दै आएका रुपन्देही सैनामैना नगरपालिका वडा नम्बर-५ दरखासीका ४० वर्षीय माधव मुसहर र ३५ वर्षीया जानकी मुसहर र उनका १० वर्षीया छोरा अर्जुन मुसहर थिए। दुई महिनाअघि मात्रै काम गर्न आएका सुर्खेतका ३१ वर्षीया झसेन्द्र सिंजाली सुत्थे।

सोमबार साँझ गाईफर्ममै सुतेका सात जनामध्ये पाँच जना एक चिहान भए। माधवका १० वर्षीया छोरा अर्जुन कोठाभित्र सुतेकाले उनलाई केही भएन्। बिहान गाईफर्मका सञ्चालक पुग्दा पाँचै जनाको शव एकै ठाउँ थियो। गाईफर्ममै बस्ने झसेन्द्र भने थिएनन्।

सञ्चालक कृष्ण पुनले छिमेकी र प्रहरीलाई खबर गरेपछि घटना बाहिरियो। पाँचै जनाको फरुवाले हानेर हत्या गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले बताए। गाईफर्ममै काम गर्ने सिंजालीले हत्या स्विकार गरेको उनले बताए।

सिंजालीलाई फर्मकै गहुँको भुस राख्ने कोठाबाट पक्राउ गरिएको थियो। त्यही लुकेर बसेका उनी पक्राउ पर्दा अचेत अवस्थामा थिए। अस्पतालमा पुराइएका उनलाई होस खुलेपछि प्रहरीले बयान लिएको थियो।

सिंजाली दुई महिना पहिला मात्रै त्यहा आएका थिए। फर्ममा काम गर्ने एकजना भारतीय कामदार लकडाउनले उतै थुनिएपछि सिंजालीलाई राखिएको सञ्चालक रामबहादुर पुनले बताए। ‘शिवपुरको गाईफर्ममै काम गथ्र्याे, एक दिन फोन गरेर काम चाहियो भन्यो, दाइले हुन्छ आइज भन्नुभएछ, उनले अन्नपूर्णसँग भने, ‘उसले गोठमा दूध दुहिने र गोवरसोत्तरको काम गथ्र्यो।’

पुन दाजुभाइले कुखुराको फर्म हटाएर गाई पाल्न थालेका थिए। मुसहर दम्पती पनि पुनः गाईफर्म सुरु गरेपछि काम गर्न गएका थिए। माधवको घर सैनामैना हो। विपन्नता र ससुराली पनि उतै भएकाले गाईफर्ममै काम गरेर बसेका थिए। सिंजालीले दूध दुहिने काम गर्थे। मुसहर दम्पत्ती घास र थरी व्यवस्थापनमा हुन्थे। पोषराज गाईफर्मको विश्वासिलो थियो। तालाचावी उसैसँग हुन्थ्यो।

गाईफर्ममा काम गर्ने कुनैबीच मनमुटाव नभएको रामबहादुर बताउछन्। ‘कहिल्यै झगडा भएको सुनेका थिएनौं, भलाद्मीजस्तो देखिन्थ्यो यस्तो घटना घटायो, उनले भने।

तर छिमेकीका अनुसार माधव र झसेन्द्रबीच सामान्य विषयमा झगडा भइरहन्थ्यो। माधवका छोरा करणले पनि बेलाबखत सुनेकै थिए। ‘अंकल (झसेन्द्र) काट्दिन्छ, मार्दिन्छु भन्दै पापालाई गाली गर्नुुहुन्थ्यो, उनले भने। छिमेकी पनि करणको कुरामा सही थाप्छन्।

प्रहरीले हत्याको कारण अझै पहिचान गरेको छैन। गोवरसोत्तर गर्ने सामान्य रिसइबीले हो या अन्य कारणले हत्या भयो भन्ने खुलेको छैन। हत्यामा एक्लै व्यक्ति थिए कि अरु पनि थिए भन्ने आकलन भएको छैन। पाँच जनाको कोदालोले हानेर हत्या गर्नु आश्चर्य भएको प्रहरी अधिकारीहरु बताउछन्। घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट एसएसपी राजकुमार बैदवार र रुपन्देहीका प्रहरी प्रमुख हेम थापाको टोली खटिएको छ।

कारबाहीको माग
प्रतिनिधिसभाको बैठकमा सांसद छविलाल विश्वकर्माले हत्या घटना विषयमा गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका छन्। उनले अनुसन्धान गरी अपराधीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।
प्रतिनिधिसभाका सदस्य एवं नेकपा महासचिव विष्णु पौडेलले पनि घटनाको निन्दा गर्दै कडा कारबाहीका माग गरेका छन्। उनले मृतकको परिवारलाई क्षतिपूर्ति दिन सरकारसंग माग गरेका छन्।