हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

कुवेतले आममाफी पाएकालाई आज नेपाल ल्याइदिँदै

काठमाडौं- नेपाली श्रमिकहरुको श्रम गन्तव्य मुलुक कुवेतले आममाफी पाएका नेपालीलाई बुधबार नेपाल ल्याइदिने भएको छ। सरकारले अनुमति नदिँदा आममाफी पाएको दुई महिनासम्म कुवेतको सेल्टरमा अड्किएका उनीहरुलाई जजिरा एयरवेजको दुई वटा फ्लाइटमार्फत नेपाल ल्याइदिने भएको हो।

जजिरा एयरवेजको दुई फ्लाइट क्षमताअनुसार सेल्टरमा रहेका नेपालीहरु ल्याइने कुवेतस्थित नेपाली दूतावासकी द्वितीय सचिव जानकी ओझाले बताइन्।

‘एयरवेजको सिट क्षमताअनुसार यहाँबाट नेपाली पठाउने कुरा छ। त्यसमा पनि स्वदेश पठाउन तयारी अवस्थामा रहेकामध्ये कतिपय बिरामी परेर पठाउन नसक्ने अवस्था हुन सक्छ। जसले गर्दा यति नै पठाइन्छ भनेर भन्न सकिने अवस्था छैन,’ द्वितीय सचिव ओझाले नेपाल लाइभसँग भनिन्।

उडान समय त्यहाँको स्थानीय समयअनुसार दिँउसो ४ बजे तय गरिएको छ। सो समय पनि केही हेरफेर हुनसक्ने दूतावासले जनाएको छ। कुवेतमा लकडाउनका कारण समस्यामा परेकामध्ये स्वदेश फर्काउन सरकारले आममाफी पाएकालाई प्राथमिकतामा राखेको छ। कुवेतबाट तत्काल उद्धार गर्नुपर्ने २ हजार ९ सय ९१ रहेको सरकारको सूचीमा उल्लेख छ।