हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

कोरोना यो सरकारको कमजोरीले आएको होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा भुटानपछि प्रति दश लाखमा सबभन्दा धेरै पिसिआर टेस्ट नेपालमा भइरहेको बताएका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस सरकारको कमजोरीले नआएको बताए।

‘पिसिआर टेस्टको कुरा आयो। भुटानको जनसंख्या थोरै छ। सीमा लक गरेको छ। बाहिर मान्छे कम थिए’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसबाहेक भन्दा अरु देश भन्दा अगाडि छौं।’ उनले सरकारले कोरोना महामारीको विरूद्ध प्रभावकारी ढंगले काम गरिरहेको बताए।

साथै, देशलाई कोरोनामुक्त पार्ने उल्लेख गरे।प्रधानमन्त्री ओलीलाई कांग्रेस सांसद सञ्जय गौतमले आफ्नो सरकारको कामबाट सन्तुष्ट भए नभएको प्रश्न गरेका थिए।जवाफमा प्रधानमन्त्री ओलिले शतप्रतिशत भनेर आफूले नभन्ने उल्लेख गरे।

‘यदि सन्तुष्टिको कुरामा शतप्रतिशत भन्ने हो भने पनि म शतप्रतिशत त भन्दिनँ.. तर यो भन्दा बढी गर्न सकिँदैनथ्यो’, ओलीले भने, ‘जुन परिस्थितिमा यो सरकारले काम गरेको छ। अधिकतम उपलब्धिका साथ स्पष्ट योजनाका साथ यो सरकार अघि बढेको छ।’

उनले अहिलेको सरकारले चालेको कदम र हासिल गरेको उपलब्धिमा असन्तुष्टि हुनुपर्ने कारण नरहेको बताए। ‘कोरोनाका कारण हामीले भनेको उत्पादन वृद्धिदर हासिल भएन, यो सरकारको कमजोरी हो र?’, ओलीले प्रश्न गरे।