हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

तीन सय नेपाली भोलि मध्यान्न कुवेतबाट काठमाडौँ आइपुग्ने

काठमाडौँ, जेठ २८ गते । कुवेतबाट नेपाली नागरिक बिहीबारमात्र स्वदेश फर्कने भएका छन् । त्यहाँबाट दुई वटा उडानमार्फत तीन सय जना नेपाली नागरिक नेपाल फर्कँदैछन् । बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको थियो ।
कुवेतले रातमा पठाउने भने पनि यहाँ रातमा व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले समय मिलाउन कठिन भएको थियो । दुवैतर्फको सहमतिमा बिहीबार दिउँसोको समयमा दुवै जहाज अवतरण हुने भएको छ ।

जस अनुसार कुवेतको जजिरा एयरलायन्सको दुई जहाजमा त्यहाँबाट नेपाली नागरिक आउँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले दिनुभएको जानकारी अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे आउनेछ । पहिलो जहाज फर्केलगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ ।

कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीन सय जना नेपाली बिहीबार फर्कन लागेका हुन् ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपाल स्वदेश फर्कने क्रममा मङ्गलबार राती ११ जना अष्ट्रेलयाबाट स्वदेश फर्किएका छन् । अस्ट्रेलियाबाट राती करिब साढे दश बजेको फ्लाइटमा उनीहरू स्वदेश फर्किएका हुन् । स्वदेश फर्केका उनीहरूलाई राती होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गरी व्यक्तिगत विवरणसमेत सङ्कलन गरी व्यवस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार अष्ट्रेलियाबाट आएकामध्ये दुई जनालाई होम क्वारेन्टाइनमा सात जनालाई होटल क्वारेन्टाइनमा र दुई जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा पठाइएको छ । आएकामध्ये एक जना १ नम्बर प्रदेशका, बाग्मती प्रदेशका तीन जना, गण्डकी प्रदेशका एक जना, प्रदेश ५ का पाँच जना र कर्णाली प्रदेशका एक जना रहेका छन् । गोरखापत्र अनलाइनबाट