हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

स्थानीय तहहरुले सयुक्त रुपमा पिसिआर मेसिन खरीद गर्ने

दमौली । तनहुँका १० वटा स्थानीय तहहरुले सयुक्त रुपमा पिसिआर मेसिन खरीद गर्ने निर्णय गरेका छन् ।म्याग्दे गाउँपालिकामा आज भएको जिल्लाका स्थानीय तहका प्रमुखहरुको सयुक्त बैठकले सो निर्णय गरेको हो ।

म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए अनुसार पिसिआर मेसिन खरीद सहित पूर्वाधार निर्माणका लागि एक करोड खर्च हुने भएको हुँदा शुक्लागण्डकी नगरपालिकाले १४ प्रतिशत ,व्यास ,भानु र भिमाद नगरपालिकाले १२ प्रतिशत , आँबुखैरेनी ,बन्दीपुर ,ऋषिङ,घिरिङ र म्याग्दे गाउँपालिकाले ९ प्रतिशत र देवघाट गाउँपालिकाले ५ प्रतिशत रकम बेर्होने भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नागिलाका अनुसार पिसिआर टेस्टको प्रयोगशाला जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा राखिने भएको छ भने पिसिआर प्रयोगशालाका लागि आवश्यक जनशक्ति गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयसंग माग गर्ने निर्णय गरिएको छ ।म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाको अध्यक्षतमा भएको सो बैठकमा भानु र भिमाद बाहेकका स्थानीय तहका प्रमुखहरुको उपस्थिती रहेको थियो ।