हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

कोरियाली मामिलामा बढ्ता नबोल्न उत्तर कोरियाले अमेरिकालाई दियो चेतावनी

दुई कोरियाबीचको सम्बन्ध बिग्रेको विषयमा चुप लागेर बस्न उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिएको छ । अमेरिकामा नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपति निर्वाचन सफलतापूर्वक गर्ने हो भने अमेरिकालाई मौन रहनुमै भलाइ रहेको उत्तरको भनाइ छ ।

बिहीवार सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले प्रकाशन गरेको बयानमा उत्तर कोरियाको परराष्ट्र मन्त्रालयका कनिष्ठ कर्मचारीले अमेरिकालाई धम्की दिएका हुन् । अमेरिकाको निर्वाचनमा हस्तक्षेप गर्न सकिने भनी चेतावनी दिइएकाले अमेरिकी अधिकारीहरूको कान ठाडो भएको छ ।

उत्तरले दक्षिण कोरियाविरुद्ध एकपक्षीय रूपमा तनाव चर्काइरहेको छ । यो हप्ता उसले दक्षिणसँग सबै किसिमको आधिकारिक संवाद अन्त्य गर्ने बताएको थियो । अमेरिकाको परराष्ट्र मन्त्रालयले प्योङयाङको निर्णयबाट आफू निराश भएको बयान दिएको छ ।

उत्तर कोरियाको परराष्ट्र मन्त्रालयमा उत्तर अमेरिका विभागका प्रमुख क्वोन जोङ गुनले भने, ‘तिमीले मुख थुनेर बसेको सही हुन्छ । त्यसो गर्दा अमेरिकाका लागि राम्रो हुन्छ र आउनै लागेको राष्ट्रपतीय निर्वाचन सफल बन्नका लागि पनि फाइदै पुग्छ ।’

उत्तरले यसअघि कहिले पनि अमेरिकी निर्वाचनमा हस्तक्षेप गर्ने धम्की दिने गरेको थिएन । तर आफू खतरनाक काम फत्ते गर्न पछि नपर्ने संकेत प्योङयाङले दिएको छ ।

उत्तर कोरियाको पछिल्लो टिप्पणीलाई अमेरिकाले कत्ति गम्भीर रूपमा लिएको छ भन्ने स्पष्ट छैन । त्यहाँको परराष्ट्र मन्त्रालयलाई देशको निर्णायक प्रक्रियामा प्रभावकारी मानिँदैन । अनि उसले पहिलेपहिले पनि धम्की दिने गरेकोमा कार्यान्वयन नगरेको देखिन्छ ।