चितवन : आफ्नो लिंग आफैं काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष नफैलियोस् भनेर लिंग काटेको बताएका हुन् ।
बुधबार राति लिंग काटेका उनी रगत बग्न बन्द नभएपछि उपचारका लागि भनेर हेटौंडा अस्पताल पुगेका थिए । हेटौंडा अस्पतालका चिकित्सकले उनलाई सोही दिन राति नै रिफर गरेर चितवन मेडिकल कलेज भरतपुरमा पठाएका थिए । उनको शल्यक्रिया गर्नुपरेको र अवस्था सामान्य रहेको चितवन मेडिकल कलेजका चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार उनको लिंगको आधा भाग काटिएको छ ।
ती युवकका अनुसार उनी घर जाने क्रममा अबेला भएको, गाडीमा यात्रा गर्दा टाउको पनि दुखेको र घर जाने बाटोमा भएको सवारी दुर्घटना भएका कारण जाम पनि भएकाले होटलमा बास बस्नु परेको थियो । होटलको शौचालमा गएको बेला बेलुकी आठ बजेतिर बिच्छीले टोकेको उनले बताएका छन् । प्रहरीका अनुसार उनी उपचारका लागि हेटौंडा अस्पताल पुग्दा राति पौने १२ बजेको थियो ।