सुर्खेत : डोल्पामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ जना युवकविरुद्ध उक्त बालिकालाई सामूहिक बलात्कार गरेको आरोप लागेको थियो ।
जसमध्ये पक्राउ पुर्जी जारी गरेर नौ आरोपितमध्ये तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा एक जनालाई मुगुबाट र दुई जनालाई जुम्ला जिल्लाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार अन्य आरोपित फरार छन् । घटनाको ६ महिनापछि पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा किटानी जाहेरी दिएको डीएसपी बुढाथोकीले बताए ।
‘बलात्कृत बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ’, डीएसपी बुढाथोकीले भने, ‘बालिकाको पेटमा बच्चा हुर्कँदै गएको परिवारले थाहा पाएपछि उनीहरूको नाममा किटानी जाहेरी दिनुभएको छ। फरार रहेकाहरूको खोजी कार्य भइरहेको छ ।’