धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदुरपश्चिमको ठूलो योगदान रहेको बताउनुभएको छ ।
कैलालीको धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको दोस्रो साधारणसभाको उदघाटन समारोहमा मन्त्री देउवाले नेपाली क्रिकेटको व्यवस्थापन, समन्वय र खेलाडी उत्पादनका दृष्टीकोणले सुदूरपश्चिमले सधँै अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो । सुदूरपश्चिमको क्रिकेटलगायत समग्र खेलकुदको विकासका लागि प्रदेश सरकारले आफनो तर्फबाट सक्ने सहयोग गर्ने उनिले प्रतिवद्धता व्यक्त गरे । मन्त्री देउवाले फाप्ला क्रिकेट मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनलगायत काम अघि बढाइएको जानकारी दिए ।
“क्रिकेटसँगै सुदूरपश्चिमको खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । प्रदेशको खेलकुदको विकासका लागि प्रदेश खेलकुद परिषद्ले परीणाममुखि काम देखाउन बाँकी रहेको मन्त्री देउवाको भनाइ थियो ।
कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले आफनो वर्तमान कार्यकालमा कोरोना महामारीलगायत कारणले क्रिकेटको विकासका लागि पर्याप्त काम गर्न नसकेको बताए । उनिले नेपालको क्रिकेट विकासका लागि अहिले स्वर्णिम समय रहेको उल्लेख गरे ।
“नेपाली क्रिकेट खेलाडीलाई न्यून पारिश्रमिक दिएर खेलाउनु परिरहेको छ”, क्यान अध्यक्ष चन्दले भने – “सातवटै प्रदेश सरकारले कम्तीमा पाँच खेलाडीलाई आत्मनिर्भर बनाउने गरी खेलकुदका योजना अगाडी बढाउनुपर्ने आवश्यकता छ ।” नेपाली क्रिकेटमा अब नाम र दाम कमाउन सक्ने वातावरण बनेको उल्लेख गर्दै उनिले सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमि भएको बताए । उनिले नेपालको क्रिकेटको विकासका लागि क्यान सदैव सक्रिय रहँदै आएको बताए ।
साधारणसभामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका क्रिकेट सङ्घका प्रतिनिधि सहभागी छन् ।