
बाँके : हत्या अभियोगमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका बाँके नेपालगञ्जका रिगल भनेर चिनिने योग ढकाल राष्ट्रपति रामचन्द्र पौडेलले बाँकै कैद सजाय माफी गरेपछि छुटेका छन् । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार ६७० जनाको सजाय माफी मिनाह गरेका थिए । राष्ट्रपतिले बुधबार माफी दिएका मध्ये एक रिगल पनि हुन् ।
रिगल जेलमुक्त भएपछि उनका समर्थकले स्वागत गरेका थिए । दाङको घोराहीस्थित जिल्ला कारगारमा रहेका उनलाई समर्थकहरूले स्कर्टिङ गरी नेपालगञ्ज पुर्याएका थिए । उनलाई तरुण दलका स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए । घोराहीका जेलरले रिगलले पचास प्रतिशत सजाय भुक्तान गरेको जानकारी दिए ।
रिगल २०७२ साल असार २८ बाँकेको नेपालगञ्जमा दिउँसै खुडा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगलको समूहले सो दिन बाँकेको नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरमाथि खुडा प्रहार गरेको थियो । मानन्धरको उपचारका क्रममा निधन भएपछि रिगल फरार भएका थिए । सो समूहका ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
रिगलले घटनाको एक वर्षपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण गरेका थिए । रिगललाई हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । रिगल तरुण दल बाँके क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति समेत थिए ।