
काठमाडौं : उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरपालिकालाई उक्त बसपार्क नभत्काउन भनेको हो ।
‘…निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(२)(ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिनु’ सुनुवाइमा भनिएको छ ।
