
ताप्लेजुङ : ताप्लेजुङमा शुक्रबार दिउँसो बोलेरो जिप र मोटरसाइकल एकापसमा ठोकिँदा एकजना सख्त घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका –७ दोखुको ऐश्वर्यचोक सडक खण्डमा जिप र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार २८ वर्षीय अनिल शेर्पा गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार सडक दुर्घटनामा घाइते हुने शेर्पा जिल्लाको मेरिङ्देख गाउँपालिका –१ थिङ्लाबु निवासी हुन् । धरानदेखि सदरमुकाम फुङ्लिङतर्फ आउँदैगरेको १ ज २५२७ नम्बरको बोलेरो जिप र विपरीत दिशादेखि जाँदै गरेको प्र–१०३–००१ प ४२९० नम्बरको मोटरसाइकल ऐश्वर्यचोक घुम्तीमा एकापसमा ठोकिएका थिए ।
गम्भीर घाइते बनेका शेर्पाको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रेफर (सिफारिस) गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
प्रनाउ लिम्बूका अनुसार गम्भीर घाइने बनेका शेर्पाको टाउको, छाती र खुट्टामा चोट लागेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।