भूकम्पबाट घाइते भएकालाई मनोसामाजिक परामर्श दिइँदै

२०८० कार्तिक २२, बुधबार

नेपालगन्ज : जाजरकोट भेरी नगरपालिका १ की जुनी विष्टलेसँगै सुतेकी १५ वर्षीया बहिनी गुमाइन् । दुई तले कच्ची घरमा माथिल्लो तलामा आमा तल्लो तलामा दिदीबहिनी सुतिरहेका थिए । भूकम्पमा आमा सुरक्षित भए पनि जुनीको आधा शरीर माटोले पुरिएको थियो । भूकम्पबाट घाइते भएकालाई मनोसामाजिक परामर्श दिइँदै

बहिनी भने च्यापिइन् । गुहार माग्दा माग्दै जुनीले बहिनी बचाउन सकिनन् । भेरी अस्पतालको शय्यामा उपचार गराइरहेकी जुनीलाई अहिले बहिनी बचाउन नसकेकोमा थकथकी लागेको छ । आफ्नै आधा शरीर पुरिएपछि बोल्न नसक्ने अवस्थामा थिइन् जुनी । अस्पताल आएको दिन पछि जुनीले मंगलबार मात्र आफ्नो भावना व्यक्त गरिन् ।

‘७ वर्षीया जुनीको खुट्टा र ढाडमा चोट लागेको छ । देब्रे हात चलेको छैन । जहिले पनि सिरक भित्र गुम्सिनु हुन्थ्यो । तीन दिन पछि बल्ल हामीसँग बोल्नुभयो,’ भेरी अस्पतालमा मनोसामाजिक परामर्शदाता रहेकी कमलाकुमारी डाँगीले भनिन्, ‘जो बोल्नु भएको छैन उनीहरूलाई विशेष काउन्सिलिङ गरिरहेका छौं ।’

शनिबारदेखि अस्पतालमा आएका घाइतेलाई मनोसामाजिक परामर्श र आफन्त गुमाएकालाई मनोपरामर्श दिन सुरु गरिए पनि अधिकांश घाइतेहरू बोल्न सकेका छैनन् ।‘भोक नलाग्ने, निद्रा नलाग्ने, एकोहोरो हुने अवस्थामा धेरै हुनहुन्छ । धेरै जना डराइरहनुभएको छ। अस्पतालमा बढिरहेको भिडले थप भयभित हुनहुन्छ, ’ डाँगीले भनिन् , ‘चरणबद्ध रूपमा बोल्न सक्ने, भावना व्यक्त गर्न सक्ने अवस्थामा ल्याउनु पहिलो आवश्यकता हो ।त्यसको लागि नियमित रूपमा काउन्सिलिङ गरिरहेका छौं । ’

अस्पतालमा तीन जना मनोसामाजिक परामर्शदाता भए पनि कमला एक्लैले अहिले बिमारीलाई परामर्श दिइरहेकी छन् । भूकम्पबाट प्रभावित व्यक्तिको मानसिक स्वास्थ्य स्थितिको विश्लेषण गर्दै भेरी अस्पतालमा मानसिक स्वास्थ्यमा प्रभाव पार्ने कारकहरू बुझ्न थालिएको छ । जाजरकोट भूकम्पपीडितहरूमा मानसिक तनावको संकेत देखिन सक्ने भन्दै सचेत रहन उपचारमा संलग्न चिकित्सकले सुझाएपछि अस्पतालमा बिमारीहरूलाई मनोसामाजिक परामर्श दिन थालिएको हो ।

‘भूकम्पपछि खोजी, उद्धार र उपचारलाई प्राथमिकता दिए पनि भूकम्पले पार्ने मानसिक असर बुझेर मनोवैज्ञानिक राहत कार्यलाई बढी प्राथमिकता दिइँदैन । उहाँहरूले मानसिक रूपमा आफूलाई सम्हाल्न सक्नुभएको छैन । आफन्त गुमाउँदा घरबासविहीन हुँदा मन भित्र एक किसिमको त्रास छ,’ भेरी अस्पतालकी मानसिक रोग विशेषज्ञ लीला देवकोटाले भनिन्, ‘छट्पटी बढी देखिएको छ । आफन्त गुमाएकाहरू अझै स्वटेबल हुनुभएको छैन ।’

भूकम्प प्रभावितअरू घरबारविहीन मात्र भएका छैनन् । आफन्त गुमाएका छन् । यसले ठूलो मानसिक प्रभाव देखिन सक्छ । खासगरी बालबालिकामा भूकम्पको उच्च डर, एकाग्रताको समस्या, चिढचिढाहट, रिस उठ्ने, शरीर दुख्ने, निन्द्रा नलाग्ने र घरभित्र पस्न नमान्ने जस्ता समस्याहरू देखिन सक्छ, ’ उनले भनिन् ।

उनको अनुसार भूकम्पपीडितहरूले अनुभव गरेका केही लक्षणहरू आकस्मिक,सामान्य हुनसक्ने भएता पनि त्यसले दीर्घकालीन मानसिक रोगको अवस्था ननिम्त्याओस् भन्नेतिर सजग भएर उनीहरूलाई हौसला प्रदान गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार