प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो : शेखर कोइराला

२०८० पुष २, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रिपोर्ट कार्डको माग गरेका छन् । नेता कोइरालाले पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछोड्न मन्त्रीहरुलाई भनेको आफूले सुनेको बताए ।

‘म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु’ नेपाली कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा कोइरालाले भने, ‘हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’ संसदीय व्यवस्थामा मन्त्रीले गरेको जस/अपजसको भागीदार पनि प्रधानमन्त्री हुने नेता कोइरालाले बताए ।

नेता कोइरालाले पार्टीभित्र अन्तर्घात भएको भन्दै एकअर्काको खुट्टा तानेर चुनाव जित्न नसकिने बताए । कांग्रेसमा व्यक्तिवादी चरित्र हावी भएको औंल्याउँदै कोइरालाले भने, ‘त्यसलाई त्याग्नुस् । त्यसलाई त्याग्न सक्यौं भने कसैको बैसाखी टेकेर जानुपर्दैन ।’ अहिलेको अवस्थामा जनतामा निराशा र आक्रोश स्वाभाविक भएको भन्दै उनले आक्रोश र निराशा गणतन्त्र र संघीयताप्रति नभएको टिप्पणी गरे । ‘त्यो आक्रोश र निराशा नेतृत्वप्रति हो’, कोइरालाले भने ।

दलहरुले राम्रा काम गरेको अवस्थामा राजतन्त्रको मुद्दा स्वतः ओझेलमा पर्ने उनले बताए । फ्रान्सको सानो चिया पसलमा राजतन्त्रको पक्षमा कुरा भए पनि त्यहाँ राजतन्त्र नआएको उदाहरण दिए । ‘फ्रान्सले राम्रो काम गरिराखेको छ । त्यसकारण राजा भन्नेहरु बढ्दैनन्’, कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार