गण्डकी : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आज (मंगलबार)देखि सुरु हुँदै छ। पोखरामा चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए।
सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्। सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने बताइएको छ।
सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुनेछ। बन्दसत्र भने बिहीबारदेखि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ। सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित ५०० जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताए।