काठमाडौं : प्रहरीले जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका अभियुक्तलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।
एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामालाई उक्त मुद्दामा कारबाही गर्न प्रहरीले मंगलबार नेपाल फिर्ता ल्याइएको हो । लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।