
टक्सार : लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरिदिएका छन् । पौवादुङ्मा गाउँपालिका–२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि रु एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरिदिए ।
विद्यालयको नयाँ छकोठे भवन निर्माण गरी सोमबार हस्तान्तरण गरेका छन् । पूर्वब्रिटिश आर्मी राईले विद्यालयको भौतिक संरचना जीर्ण देखेकाले आफ्नै ठाउँमा केही गरौँ भन्ने भावनाका साथ विद्यालय निर्माण गरेको बताए ।
राईले भने, “मैले स्वास्थ्य संस्था बनाउने विचार गरेको थिएँ तर स्वास्थ्य चौकी बनिसकेको रहेछ, त्यसपछि विद्यालय भवन जीर्र्ण देखेपछि शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने देखेर भवन निर्माण गरेको हुँ ।” सत्तरी वर्षका राईले विद्यालय भवनमात्र नभई विद्यार्थी खेल्ने ठाउँसमेत बनाइदिएका छन् ।
गाउँपालिकाका अध्यक्ष किरण राईले आफू जन्मेहुर्केको ठाउँमा कृष्णबहादुरले गर्नुभएको काम प्रशंसनीय भएको बताए । अध्यक्ष राईले भने, “गाउँको विकास गर्नुपर्छ भन्ने भावनाका साथ कृष्णबहादुरले विद्यालयका लागि पक्की भवन बनाएर कीर्ति कायम गर्नुभएको छ ।”