युवालाई स्वदेशमै रोक्नेगरी सीपमूलक शिक्षा दिनुपर्छ : राष्ट्रपति

२०८० पुष १०, मंगलवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ संख्यामा विदेशिरहेका नेपालीलाई रोक्न स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्ने बताएका छन्।

मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरुप निर्धारण हुनुपर्ने बताए।

बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति तथा कार्यक्रम आजको आवश्यकता भएकोले सोही अनुरुप अगाडि बढ्नुपर्ने पौडेलको धारणा छ। ‘शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली युवा ताँती लागेर विदेशिने क्रम रोक्नेगरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी छ,’ राष्ट्रपति पौडेलले भने।

लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुनेगरी गाउँ रित्तो भएको भन्दै राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गरे।

गाउँ किन रित्तिँदै छ भन्नेबारेमा नीति निर्माण र शासन सत्तामा बस्नेहरूलाई चासो र चिन्ता हुनुपर्ने पौडेलले बताए।

‘गाउँमा मोटर पुग्यो, बिजुली बल्यो, सञ्चार, स्वस्थ्य सुविधा, स्वास्थ्य चौकी, कलेजहरू सम्पूर्ण पुगे तर सबै चिज पुग्दा गाउँ रित्तो भयो। त्यसलाई उपभोग गर्ने मानिसको अभाव भयो,’ राष्ट्रपति पौडलले भने, ‘आज गाउँ किन रित्तिँदैछ, नीति निर्माण गर्ने र शासनसत्तामा बस्ने लगायत सबैको चिन्ता यसमा केन्द्रित हुन जरुरी छ।’

राष्ट्रपति पौडेलले विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रमका लागि सामूहिक प्रयत्नको जरूरी रहेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार