
काठमाडौं : आज चिनियाँ जनवादी क्रान्तिका प्रणेता माओत्सेतुङको १३१ औ. जन्मजयन्ती सत्तासीन माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मनाएको छ।
नेपालमा माओको विचार अंगीकार गर्दै सुरु गरेको जनयुद्ध संसदीय व्यवस्थामा बिसाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओ जयन्ती मनाएर विचारको नयाँ विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले माक्र्सवा दीहरु यान्त्रिकता र अन्धानुकरणमा जान नहुने मत माओजयन्तीको अवसरमा व्यक्त गरेका छन्। उनले समयानुकुल विचारको विकास गर्नुपर्ने बताउँदे माओकालीन समय अहिले नरहेकाले नयाँ ढंगले अघि बढेको प्रष्ट्याए।
दाहालकै नेतृत्वमा तिनै माओको विचार अनुरुप माओवादी गठन गरेर जनयुद्ध थालेका दाहाल संसदीय व्यवस्थामा आएर तीनपटक प्रधानमन्त्री भइसकेका छन्। यो अहिले उनको तेस्रो कार्यकाल हो।
संयोगवश आजै दाहालको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकालको एक वर्ष पुगेको छ। तर उनले भनेजस्तै माओवादीको सुरुवाती आन्दोलन भने अहिले संसदीय व्यवस्थाको प्रमुख रक्षक र कार्यान्वयनकर्ताको रुपमा आफूलाई उभ्याएको छ।
संसदीय व्यवस्था मजबुद बनाउने प्रण गरेका दाहाल माओ जयन्ती मनाउनु र पार्टीको नाम माओवादी राख्ुन विरोधाभाषपूर्ण छ। किनभने माओले सुरु गरेको चिनियाँ जनवादी क्रान्ति संसदीय व्यवस्थाको अन्त्यका लागि गरिएको थियो। सोही अनुरुप उनले चीनमा १९२९ देखि १९४९सम्म युद्ध छेडेका थिए।
उनले त्यहाँस्थित संसदीय व्यवस्थाको अन्त्य गर्दै नयाँ जनवादी व्यवस्था लागू गर्न सफल भएका थिए। तर सुधारिएको संसदीय व्यवस्थाको संज्ञा दिँदै उही पुरानै चरित्रको व्यवस्थामा रमाएको सत्तारुढ माओवादीको आजको अवस्था निकै भिन्न छ।
वर्तमान सरकारको नेतृत्व आफूले युद्धकालमा राजनीतिक शत्रु किटान गरेको कांग्रेसको सहारामा दाहालले गरिरहेका छन्। उनले जनयुद्ध यो व्यवस्थाको समूल अन्त्य गर्न माओवादको पथप्रदर्शक सिद्धान्त अनुशरण गर्दै गरेका थिए।
यसर्थ दाहालको पार्टीको नाम माओवादी र माओजयन्ती मनाउनु अथहीन मात्रै होइन। औचित्य पुष्टि गर्न पनि सकस पर्छ । यही बुझेरै दाहालले जनता र कार्यकर्तालाई भ्रमित तुल्याउन बदलिएको परिवेश अनुरुप राजनीतिक कार्यदिशा तर्य गर्नुपरेको बताउँछन्।
उनले माओकालीन समय आज नरहेको प्रष्ट्याउनु पनि माओवादी दर्शनको उपादेयता र सान्दर्भिकता नरहेको आशय प्रकट गरेको सहजै ठम्याउन सकिन्छ।
तर, दाहालले ठाडै त्यसो भन्ने आँट गर्दैनन् किनभने उनले आफ्नै नेतृत्वमा सुरु गरेको जनयुद्धको उपज अहिलेको व्यवस्था भएको दाबी गर्नबाट बञ्चित हुनुपर्ने परिस्थितिबाट बच्न उनले द्विअर्थी तर्क गर्दै आएका छन्।
आज प्रधानमन्त्री रहेका दाहाल र उनको दलको अवस्था संसदीय व्यवस्थाको संरक्षक र यसको असली कारिन्दाको रुपमा कायम रहेको छ। तथापि उनले विगतमा सुरु गरेको जनयुद्धको औचित्य र त्यसको आवश्यकता पुष्टि गर्न माओ जयन्ती मनाउनुपर्ने बाध्यात्मक स्थितिमा पुगेका छन्।
दाहालले तय गरेको राजनीतिक मार्गदर्शन र उनको राजनीतिक अवस्थितिबीच कुनै तादाम्यता मिल्दैन। उनको क्रियाकलाप संसदीय व्यवस्थाको प्रमुख कार्यकारी पदमा रहेर यही व्यवस्था मजबुद बनाउन प्रयत्नशील छन्। उनी अनेक हथकण्डा प्रयोग गरेर प्रधानमन्त्रीमा रहिरहन जोडबल गरिरहेका छन्।
अर्कोतिर संसदीय व्यवस्था भनेको बोकाको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने थलोका रुपमा चित्रित गरेका माओको जन्मजयन्ती मनाउँदै पार्टीको नाम माओवादी नै राखेका छन्।
उनको विरोधाभाष राजनीतिक व्यवहारले अंगीकार गरेको राजनीतिक दर्शन र त्यसको व्यावहारिक प्रयोगमा असफल सावित भएको प्रतित हुन्छ। माओवादको आवरणमा सत्तारोहण गर्ने उनको अभिप्रायले माओको निष्ठा र आदर्शलाई कलंकित बनाउने कुचेष्टामात्रै हो।