
काठमाडौं : हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कम्पनीको आईपीओ आज बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाको आवेदन परेको थियो। जस मध्ये १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । जसमा १० कित्ता देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै सेयर पाएका छन् । ३० कित्ता भन्दा माथिको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराइ सेयर बाँडफाँट गरिएको छ । यस हिसाबमा २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन्। अर्थात् २९ हजार २१ जनाले ४० कित्ता सेयर पाएका छन्।
कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको थियो ।