
काठमाडौँ : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको दोहोरो चरित्र सह्य नहुने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामको बारेमा छलफल भएको बताए।
‘साँझ ६ बजे फेरि बैठक हुन्छ र निर्णय हुन्छ। यो चाहिँ चल्दैन। सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका दृश्य देखिएका छन्, त्यो चल्दैन,’ चन्दले भने। चन्दलाई अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पुर्जीबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए।