
काठमाडौँ : वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएका विदेशी सहयोग नेपालले खर्च गर्नै नसकेको बताएका छन्। बुधबार विश्व जलवायु सम्मेलन (कोप–२८) को उपलब्धि र आगामी कार्यदिशा सम्बन्धमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशी दाताले दिएको ४६ करोड रुपैयाँ तीन वर्ष भइसक्दासमेत खर्च गर्न नसकिएको बताए।
मन्त्री महतोका अनुसार त्यो रकम सम्बन्धित क्षेत्रमा खर्च हुन सकेको छैन भने तलब, भत्ता लगायतमा खर्च भई घट्दै गइरहेको छ। महतो भन्छन्, ‘जीसीएफ भन्ने फाउन्डेसनले क्लाइमेटसम्बन्धी खर्च गर्न ४६ करोड दिएको छ। त्यो ४६ करोड घटेर तीन वर्षमा ३५ करोड भएको होला। त्यो घटेको एक रुपैयाँ पनि क्लाइमेट चेन्जमा खर्च गर्न सकेनौँ। तलब, गाडी र भत्तामा मात्रै खर्च गरेका छौँ।’
जलवायु परिवर्तनबाट भएका असर न्यूनीकरणका लागि विदेशीको मात्रै मुख नताकेर आफूले पनि पहलकदमी थाल्नुपर्ने मन्त्री महतोको भनाइ छ। मन्त्री फेरिएसँगै कर्मचारी फेर्नुभन्दा पनि उनीहरूलाई सोही क्षेत्रमा राखेर विज्ञ बनाई आगामी कोपका लागि तयार गर्नुपर्ने महतोले बताए।
सरकारसँग नेपालले कति कार्बन उत्सर्जन गर्छ भन्ने तथ्यांक नै नरहेको महतो बताउँछन्। तथ्यांक संकलनका लागि गर्नुपर्ने खर्च सरकारले गर्न नसकेका कारण मन्त्रालय तथ्यांकविहीन भएर बस्नुपरेको महतोले बताए। ‘ नेपालमा ४५ प्रतिशत जंगल छ भन्छौँ। हरेक मानिसको घरमा भएको रुखलाई गन्ने कि नगन्ने?’ महतो प्रश्न गर्छन्।
मन्त्री महतोले आफूसँग भएको स्रोतलाई रोजगारी र समृद्धिसँग जोडेर जानुपर्ने बताए। विदेशी सहयोगको मुख ताकेर बस्ने हो भने नेपालको समृद्धि हुन नसक्ने महतोको भनाइ छ।