
काठमाडौं : नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले पार्टीमा उमेर हदको सन्दर्भ हराइसकेको बताएका छन्। उक्त पार्टीमा नेताहरूका लागि उमेर हद राख्ने कि नराख्ने, कति राख्ने भन्ने जस्ता विषयमा फरकफरक मत आइरहेको बेलामा खनालले उमेर हदसम्म सान्दर्भिक नहुने तर्क गरेका हुन्।
बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको सातौँ बैठकमा धारणा राख्ने क्रममा उनले यस विषयमा सुझाव दिन सदस्यहरूलाई आग्रह गरे। ‘हिजो नवौं महाधिवेशनतिर हामीले उमेर हद राखेका थियौँ, ७० वर्ष भनेर। उमेर हदचाहिँ राख्यौँ। तर त्यो उमेर हदभन्दा तलतिरको नेताचाहिँ जन्माउन सकिएन। त्यो दुःखद् कुरा छ। हद राखेर मात्रै हुन्छ कि हुँदैन? घाट राखिदिएर, घाटबाट छिर्न पाइन्छ कि पाइँदैन भनेर मात्रै हुन्छ कि हुँदैन?’, उनको प्रश्न थियो।
खनालले विचारवान् युवाहरूको पंक्ति विकास गर्ने कार्यभारलाई अब पार्टीले प्राथमिकता दिएर जानुपर्ने बताए। आगामी महाधिवेशनले पनि युवाहरूलाई व्यापक रुपले माथि ल्याउनुपर्ने आवश्यकता रहेको भए पनि उमेर हदकै कुराचाहिँ सान्दर्भिक नभएको उनको तर्क थियो।
खनालले छैटौं केन्द्रीय समिति बैठकमा आफूले सानोसानो सर्वे गरेको भन्दै ७२ प्रतिशत सदस्य ६० वर्षभन्दा माथि उमेरका रहेको बताए। ‘हामी पनि बुढाखाडा हुन धेरै समय त रहेनछ। त्यसैले युवाहरूलाई व्यापक रुपले अगाडि ल्याउनुपर्छ भन्ने प्रश्न तथ्याङ्कले नै बताइहाल्यो’, उनले भने, ‘अब युवाहरूलाई हामीले प्रोत्साहित गर्नुपर्छ। कति प्रतिशतसम्म गर्ने त। सामान्यरुपमा ४० प्रतिशत गरौँ भन्ने त आइसकेको छ। त्योभन्दा अझै बढी गरौँ भन्ने पनि छ। तपाईंहरूको सुझाव आउन् त्यसमा।’