सरकारले राम्रो कामको सुरूआत गरेको छ, गठबन्धन पाँचै वर्ष जान्छः प्रचण्ड

२०८० पुष ११, बुधबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन्। माओवादी केन्द्रको ‘जनतासँग अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्न गोरखाको बारपाक सुलिकोट पुगेका प्रधानमन्त्री प्रचण्डले गठबन्धन नफेरिने बताएका हुन्। गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको बताउँदै प्रधानमन्त्रीले बाँकी चार वर्षमा धेरै राम्रा काम गर्ने दाबी गरे।

‘सरकारले यो एक वर्षे कार्यकालमा रेकर्ड कायम हुने गरी केही काम गरेको छ। नागरिकता, मिटरब्याजीको समस्या, सामाजिक सुरक्षा, विकास निर्माणको क्षेत्रमा सरकारले उल्लेखनीय प्रगति हासिल गरेको छ। जलवायु परिवर्तनको असरको न्यायको विषयमा पर्वतीय देशहरूको नेतृत्व गरिएको छ। एक वर्षमा यति काम भए भने बाँकी चार वर्षमा त झनै धेरै राम्रा काम हुनेछन्,’ उनले भने।

सरकारले राम्रा कामको सरूआत गरेको भए पनि गणतन्त्र र परिर्वतन विरोधीहरूले राम्रो भन्न हिच्किचाएको बताए। राम्रा कामको प्रचार जनता र परिर्वतन पक्षधरले गर्नुपर्ने प्रधानमन्त्रीले जोड दिए। ‘हामीले गाउँ–गाउँमा सिंहदरबारको रूपमा महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना गरेका छौं। यसबाट धेरै राम्रा काम पनि भएका छन्। त्यसको पक्षमा हामीले बोल्नुपर्छ। सरकारका राम्रा कामको प्रचार हामीले नै गर्नुपर्छ,’ उनले भने।

पछिल्लो समय परिर्वतन विरोधीहरूले सरकार, गठबन्धन र प्राप्त उपलब्धिविरूद्ध षड्यन्त्र गरिरहेको प्रधानमन्त्रीले बताए। त्यसकै कारण अँध्यारो मात्रै देखाउने काम गर्न खोजिएको उनले चर्चा गरे। यद्यपि, त्यस्ता षड्यन्त्र र परिर्वतनविरोधी अवरोध छिचोल्न सरकार सफल बनेको उनको भनाइ छ।

‘गठबन्धनविरूद्ध विभिन्न षड्यन्त्र र धार्मिक द्वन्द्व सिर्जना गर्न खोजियो। तर उनीहरूले जतिसुकै बल गरे पनि केही भएको छैन। हामीले बडो धैर्य हुँदै धार्मिक र अतिवादी प्रयास विफल तुल्यायौं,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष गठबन्धन परिर्वतनलगायत विभिन्न अलमलका कारण बजेट निर्माणमा राम्रो ध्यान दिन नसकिएको बताए। यो वर्ष बजेट निर्माणमा व्यापक छलफल गरेर जनताको सहभागिता बढाइने बताए।

‘निर्वाचनलगत्तै एउटा परिस्थितिमा सरकार बन्यो र मैले त्यो सरकारको नेतृत्व गर्न पाएँ, पछि फेरि राजनीतिक कोर्स फेरियो म फेरि गठबन्धनको प्रधानमन्त्री बनेँ,’ उनले भने, ‘त्यति बेलासम्ममा नीति तथा कार्यक्रम बनिसकेको थियो, त्यसैले गत वर्ष पर्याप्त ध्यान पुग्न सकेन, आगामी बजेटमा म उचित सम्बोधनको प्रयास गर्नेछु।’

नेकपा (माओवादी केन्द्र) को जनतासँग रूपान्तरण अभियानअन्तर्गत पार्टी अध्यक्षसमेत रहेका प्रचण्डको जिम्मेवारी बारपाक सुलिकोट गाउँपालिको ८ नम्बर वडा परेको थियो। त्यसैका लागि उनी गोरखा पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार