
काठमाडौँ : प्रमुख सत्तारुढ नेपाली कांग्रेसले मन्त्रीहरू हेरफेरको सवालमा पुष्पकमल दाहाल प्रचण्डमा सर्वाधिकार रहेको जनाएको छ।
बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकका क्रममा मन्त्रीहरू हेरफेरबारे कुरा उठेको नेता मीनबहादुर विश्वकर्माले बताएका छन्।
‘कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरूले शुक्रबार पार्टी केन्द्रीय कार्यसमितिमा आफ्नो कार्यसम्पादनबारे जानकारी गराउने कार्यक्रम छ’, उनले सानेपामा भने, ‘मन्त्रालयको गतिविधिबारेको रिपोर्टिङ भोलि राख्ने कार्यक्रम छ। त्यसपछि मात्रै हेरफेबारे ठोस निर्णय हुन सक्छ।’
विश्वकर्माले प्रधानमन्त्रीको सम्बोधनलाई पनि कांग्रेसले ख्याल गर्ने बताए। ‘पहिले मन्त्रीको कुरा सुनेर पार्टीले निर्णय लिनेछ। गठबन्धनको सरकार भएकाले शीर्ष नेताहरूसँगको परामर्शमा प्रधानमन्त्रीले मन्त्री फेर्ने कुरामा रोकछेक गर्दैन’, उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो अनुकुलको मन्त्री लिन सक्छन्। प्रधानमन्त्रीलाई सहयोग गर्न सक्ने र चाहने मन्त्री फेर्न सक्छन्। यसमा कांग्रेसको सहयोग हुनेछ। तर पहिले सबै मन्त्रीको रिपोर्टिङ सुनेर थप निर्णय हुन्छ।’