
काठमाडौँ : सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।जीवनारायण काफ्लेको उमेर हदका कारण अवधि सकिएपछि सीटीईभीटीको सदस्य सचिव पद रिक्त थियो । काफ्लेको अवधि सकिएसँगै भट्टराईलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिइएको थियो ।
राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले परिषद्को रिक्त सदस्य सचिवमा भट्टराईसहित राष्ट्रिय सीप परीक्षणका निर्देशक टेकबहादुर मल्ल र क्वालिटी परियोजना प्रमुख विनोद बडाललाई सिफारिस गरेको थियो ।