माग गरेको एक दशकपछि पुल

२०८० पुष २५, बुधबार

तानसेन : पक्की पुलको माग गरेको एक दशकपछि पुल निर्माणको काम सुरु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–१, कचल र वडा नं. २ दोभान जोड्ने कुर्मान खोलामा स्थानीय बासिन्दाले पुल बनाउन माग गरेको एक दशकपछि पक्की पुल बनाउन सुरु गरिएको हो । लुम्बिनी प्रदेश सरकारले चालु आव २०८०/८१ मा विनियोजन गरेको दुई करोड ९५ लाख रुपियाँमा पुल निर्माणको काम सुरु भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।

एक वर्षको अवधिभित्र पुल निर्माणको काम सक्ने गरी कुर्मान खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको कार्यालय प्रमुख वासुदेव भण्डारीले बताए । आठ मिटर चौडाइ र २५ मिटर लम्बाइको पुल बनाउन थापा इन्जिनियरिङ बुटवलसँग सम्झौता भएको भण्डारीले बताए ।

तिनाउ गाउँपालिकाको कचल, दोभान, रैनादेवी छहराको फेक, सत्यवती, पालुङ्मैनादीसम्मका बासिन्दाले यो बाटो भएर यात्रा गर्छन् । पुल नहुँदा यहाँका बासिन्दा काठले बनाएको फड्के पुलबाट जोखिम मोलेर हिँड्ने गरेका छन् । पुल निर्माण गर्न माग गरेको एक दशकपछि बजेट परेर ठेक्कामार्फत पुल निर्माणको काम सुरु भएको स्थानीय बासिन्दा हिमाल गाहाले बताए। उनले भने , “पुल नबनेको समयसम्म काठको फड्केबाटै कुर्वान खोला तरियो, अब पुल बनेपछि बाह्रै महिना यातायातमा यात्रा गर्न सजिलो भएको छ ।”

पुल बनेपछि यस भेगका किसानले उत्पादन गरेको तरकारी, फलफूल, तेजपत्ता निकासी गर्न सहज हुने छ । यस्तै जिल्ला सदरमुकाम तानसेन, बुटवल, पालिकाको केन्द्र दोभानसम्मको आवतजावतमा सहज हुने स्थानीय बासिन्दाको भनाइ छ । कुर्वान खोलामा पक्की पुल नहुँदा जोखिम मोलेर खोलाबाटै सवारीसाधन गुडाउनुपर्ने बाध्यता थियो । तिनाउ–१, कचलका स्थानीय बासिन्दा अमरबहादुर सुनारीले यस्तै वर्षात्को समयमा कुर्वान खोलाका कारण सडक अवरुद्ध हुँदा यस भेगका मानिसले बिरामी डोलामा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यात्मक अवस्था रहेको बताए।

पक्की पुल बनाउन सुरु गरेपछि मुख्य गरी तिनाउ गाउँपालिकाको वडा नं. १ र २ का बासिन्दा र रिब्दीकोट र रैनादेवी छहराका बासिन्दालाई बाह्रै महिना आवतजावत गर्न सहज हुने छ । पुल बनाउने तिनाउ गाउँपालिकाको आफ्नै स्रोत नभएको अवस्थामा प्रदेश सरकारको लगानीमा पुल निर्माण सुरु भएको तिनाउ–१ का वडाध्यक्ष भुवनसिंह चिदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार